२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

धुलिखेल नगरद्वारा सीपमूलक तालिमपछि रोजगार प्रदान

ADV
मध्यान्ह
२०८१ असार २५ गते १२:२१
धुलिखेल नगरद्वारा सीपमूलक तालिमपछि रोजगार प्रदान

काभ्रेपलाञ्चोक : धुलिखेल नगरपालिकाले तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेको छ । सोमबार मात्र ‘वेटर’ तथा ‘हाउसकिपिङ’ तालिम सिकेका ४८ जनालाई भक्तपुर र काठमाडौंका विभिन्न होटल तथा संस्थामा रोजगार दिइएको हो ।

रोजगार सेवा केन्द्रद्वारा वेटर/वेट्रेस तथा हाउसकिपिङसम्बन्धी एक सय ६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदानपश्चात उक्त सङ्ख्यामा रोजगार प्रदान गरिएको जनाइएको छ ।

भक्तपुरको ग्लोबल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम टेक्निकल सेन्टरको प्राविधिक सहयोगमा धुलिखेलका विभिन्न वडाका ४८ जना व्यक्तिलाई तालिमपश्चात रोजगारीका लागि भक्तपुरको सुमेरु र काठमाडौंको हायात होटल तथा अन्य संस्थामा प्रशिक्षार्थी कामदारका रूपमा पारिश्रमिकसहित रोजगार प्रदान गरिएको नगर रोजगार संयोजक सम्झना नेपालले बताए ।

तालिमप्राप्त व्यक्तिले घर छाडेर अन्यत्र रोजगारी चाहेमा उपत्यकाका विभिन्न होटल तथा संघसंस्थामा अवसर उपलब्ध भइसकेको र नगरभित्र रोजगार चाहनेलाई पर्यटकीयस्थल धुलिखेलको स्थानीय सेवा प्रदायक संस्थाहरूसँग समन्वय गर्ने कार्य भइरहेको नगरप्रमुख अशोक ब्याञ्जूले बताए ।

उनका अनुसार युवालगायतका परिषद् गठन गरी नगरले बेरोजगारीलाई रोजगार, सीप, उद्यामशीलता तथा क्षमता अभिवृद्धि तालिममा संलग्न गराई रोजगार उपलब्ध गराउने उद्देश्य लिएको हो ।

यस्तै, नगरले वेटर/वेट्रेसका लागि २५ वर्ष उमेरभित्रका युवा तथा सबै उमेर समूहका लागि हाउसकिपिङका लागि तालिम प्रदान गर्दै आएको जनाएको छ। नगरले बेरोजगारीमा सूचीकृत परिवारका सदस्यलाई उक्त तालिममा सहभागी गराएको थियो ।

यसैबीच नगरले परिषदद्वारा हालसम्म एक हजार छ सयलाई विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गरिएको जनाएको छ । हालसम्म सशक्तीकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ ।

नगरवासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिक रूपले सशक्त बनाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो ।

विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिई दक्ष जनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको ब्याञ्जूले बताए ।

‘सीप सिकेर उद्यम गर्छु भन्नेहरूका लागि उद्यमशीलतासहितको सहुलियत र अनुदानमा पुँजी र प्रविधि उपलब्ध गराएका छौं । बेरोजगारी घटाउन रोजगारी दिलाउन तथा आफै उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने हाम्रो अभियान निरन्तर जारी छ,’ ब्याञ्जूले भने ।

उनका अनुसार उद्यमशीलतासहितको सीपमूलक तालिम र सशक्तीकरणले नगरवासी सचेत र आत्मनिर्भर बन्ने विश्वास लिइएको छ। नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोट गरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न अपिल गर्दै आएको छ ।

युवा परिषदमार्फत चालु आर्थिक वर्षमा पनि करिब दुई सय युवालाई बेकरी, मोबाइल मर्मत र ड्राइभिङसम्बन्धी तालिम प्रदान गरिएको छ । परिषद् उपाध्यक्ष सिवी तामाङले विशेषगरी युवा वर्गलाई सशक्तीकरण र सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने उद्देश्यले फरकफरक तालिम आयोजना गरेको बताए। उनका अनुसार आधारभूत तालिमपछि ‘एड्भान्स’ तालिमको पनि तयारी गरिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise