२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

ADV
मध्यान्ह
२०८१ असार २५ गते १४:३८
केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं : राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आज निर्माणाधीन  पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो ।

समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिएको हो । समितिले दोस्रोपटक पुस्तकालय भवनको निरीक्षण गरेको हो । 

त्यसअवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो ।  विसं २०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन विसं २०७६ बाट प्रवलीकरण(रेट्रोफिटिङ) सुरू गरिएको थियो । दुई वर्षभित्र कार्यसम्पन्न गर्ने भनिए पनि छ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति जनाएका थिए । 

समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गरेकोमा पुस्तकालय प्रमुख यादवले भवनको सेलिङ राख्न केही ढिलाइ भएको जवाफ दिए । त्यसका लागि बोलपत्रको समय नौ महिना थप गरिएको उनले जानकारी दिए । “ चैतसम्ममा पुस्तकालय पूरै तयार हुन्छ भन्नेमा आशावादी छौँ”, उनले भने, “लगभग ८० प्रतिशत कार्यसम्पन्न भएको छ ।”

यादवका अनुसार पुस्तकालयामा पुरातात्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन् । यहाँ एक हजार एक सय ५० वर्ष पुरानो हस्तलिखित ग्रन्थहरू छन् । यिनको ‘डिजिटलाईज’ गर्ने कार्य भइरहेको उनले जानकारी दिए । 

पुस्तकालयका विषयमा सभापति शर्मा, सांसदहरू गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, गोपालकुमार बस्नेत, पदमबहादुर परियार, मदनकुमारी साह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा विसी गरी १२ जनाले विभिन्न जिज्ञासा राखेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise