वीरगञ्ज : शुक्रबार राति वीरगञ्जको नारायणी अस्पताल, सधैंजस्तै सीसीयु र आईसीयु कक्षमा गम्भीर बिरामीहरू उपचाररत थिए । तर रातको १० बजेसँगै अस्पताल एक्कासी अन्धकारमा डुब्यो । यिनै कक्षहरू, जहाँ हरेक सेकेन्ड जीवनको आशामा लडिँदै थियो, त्यहीँ तीन घण्टासम्म विद्युत् अवरुद्ध हुँदा १७ जना बिरामीको ज्यान जोखिममा पर्यो ।
बाहिर आँधी थिएन, भुइँचालो आएको थिएन, तर आईसीयुभित्र भने आतंकको आँधी चलेको थियो । अक्सिजनमा निर्भर बिरामीको छटपटी, उपकरण नचल्दा उठेको हतासो र आफन्तहरूको रोदन सबै मिलेर त्यो रात एउटा दुःस्वप्न जस्तै बन्यो ।
“मोबाइलको टर्च बालेर बिरामीको सास चलिरहेको छ कि छैन हेर्दै थियौं,” एक कुरुवाले सुनाए, “त्यतिबेला लाग्यो, अब हामी आफ्ना मान्छे यही अन्धकारमा गुमाउनेछौं ।”
३ घण्टा- राति १० बजेदेखि १ बजेसम्म । त्यति लामो समय जीवनरक्षक उपकरण निष्क्रिय हुँदा न त अस्पतालको जेनरेटर चल्यो, न त कुनै आपतकालीन ब्याकअप सजग रह्यो ।
एक प्राविधिकले आक्रोश पोखे, “जेनरेटर बिग्रिएको, ब्याकअप छैन, अनि आईसीयु कसरी चल्छ ?”
घटनाका बेला अस्पतालका प्रमुख डा. चुमनलाल दास अस्पतालमै थिएनन् । जिम्मेवारी सम्हालिरहेका निमित्त मेसु डा. चित्तरञ्जन साहले अवस्था नबुझ्दै बिरामीलाई अन्य अस्पताल लैजान सुझाव दिए । “उपचार होइन, बिरामी सार्नुस् भनियो,” एक पीडित आफन्तको गुनासो थियो, “यस्तो सल्लाहले हाम्रो डर झन् बढ्यो मात्र ।”
मानवअधिकारकर्मीहरू, स्थानीय सञ्चारकर्मीहरू र सरोकारवालाहरू रातभर घटनास्थलमै पुगे । उनीहरूले देखेको दृश्य, सुनेको चिच्याहट र भोगेको अव्यवस्था ती कुनै पनि अस्पतालका लागि स्वाभाविक मान्न सकिने थिएनन् । "सीसीयुभित्र टर्चको उज्यालोमा नाडी नापिँदै थियो, बाहिर हातको पंखाले ज्यान जोगाइँदै थियो," एक स्थानीयले भने ।
शनिबार बिहान प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले अस्पतालका पदाधिकारीहरूसँग संयुक्त बैठक गरे । प्रजिअ अर्यालको भनाइ थियो, “तीन घण्टा आइसियुमा बिजुली नहुनु सामान्य होइन । यदि ज्यान गइसकेको भए, जिम्मा कसले लिने ?”
उनले यस्ता गल्ती दोहोरिन नदिन व्यवस्थापन सुधारको निर्देशन दिए । प्रहरी प्रमुख मिश्रले आईसीयु, सीसीयुमा २४ घण्टा प्राविधिक र इलेक्ट्रिसियनको उपस्थितिलाई अनिवार्य बनाउन जोड दिए ।
अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले कमजोर वायरिङकै कारण सर्ट सर्किट भएको बताए । “दुई जना गम्भीर बिरामीलाई सार्ने तयारी थाल्दा बिजुली फर्किएको हो,” उनले जानकारी दिए ।
नारायणी अस्पताल मधेश क्षेत्रका आर्थिक रूपमा कमजोर वर्गका लागि जीवनको अन्तिम भरोसा हो। तर यही अस्पतालमा यति ठूलो लापरबाही हुनु केवल प्राविधिक असफलता होइन, जनस्वास्थ्यप्रति राज्यको दृष्टिकोणमाथि उठेको गम्भीर प्रश्न हो ।
मानवअधिकारकर्मी, स्वास्थ्य सरोकारवाला र स्थानीय नागरिकहरूले सरकारसँग उक्त घटनाको निष्पक्ष र छिटो छानबिन, दोषीमाथि कारबाही गर्न तथा अस्पतालको आकस्मिक तयारी प्रणालीलाई मजबुत बनाउने दीर्घकालीन नीति बनाउन माग गरेका छन् ।