२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

हेटौंडामा मनाइयो विश्व दुध दिवस : ‘किसानको समस्या समाधान गर्न सरकार प्रतिबद्ध’

राजकुमार के.सी.
२०८२ जेठ १८ गते २१:३२
हेटौंडामा मनाइयो विश्व दुध दिवस : ‘किसानको समस्या समाधान गर्न सरकार प्रतिबद्ध’

मकवानपुर : हेटौंडामा ‘दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं’ भन्ने मूल नाराका साथ २५औं विश्व दुध दिवस मनाइएको छ । 

राष्ट्रिय दुग्ध विकास बोर्डको अयोजनामा विश्व दुध दिवस मनाइएको हो । आइतबार बागमती प्रदेशको राजधानी हेटौंडास्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशको प्राङ्गण चौकीटोलदेखि सुरू भएको प्रभातफेरी र्‍याली रोयल प्यालेस हेटौंडामा पुगेर सभामा परिणत भएको थियो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि मन्त्री अधिकारीले किसानको समस्या समाधान गर्नको लागि सरकार प्रतिबद्ध रहेको र सबै पक्षबाट इमान्दार प्रयास गरेर किसानका समस्या समाधान गर्नुपर्ने बताए ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सचिव बैकुण्ठ अधिकारी, बागमती प्रदेश पशु सेवा विभागका महानिर्देशक डा.रामानन्द तिवारी, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष हरिप्रसाद पौडेल, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बरबहादुर कुँवर, वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, महासचिव राम आचार्य, डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्टता हासिल गरेका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुका रुपन्देहीका यज्ञमूर्ति खनाल उत्कृष्ठ कृषकको रुपमा सम्मनित भएका छन् । उनले १ सय ५० भन्दा बढी गाई पालेर दैनिक ८ सय लिटर भन्दा बढी दुध उत्पादन गरी बिक्री गर्दछन् । 

यसैगरी भवानी दुग्ध उत्पादक सहकारी संस्था र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ सम्मानित भएका छन् । त्यस्तै दुग्ध उद्योगीतर्फ नेपाल कृषि तथा दुग्ध विकास केन्द्र झापाका हेमचन्द्र खनाल, मोर्डन डेरी भक्तपुरका रामप्रसाद त्यात, अनमोल डेरी ईलामका गोविन्द खड्का सम्मानित भएका छन् । 

साथै पत्रकार रबि थापालाई सञ्चारकर्मी सम्मान, डेरी विज्ञ मदन मोहन दाशलाई विशेष सम्मान र मकवानपुर जिल्ला सहकारी संघलाई प्रसंशा पत्रसहित सम्मान गरिएको छ । 

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जिविकोपार्जनमा पुर्‍याएको योगदानको मनन गर्दै दुधको उपयोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन थालेको हो । यसै सन्दर्भमा नेपालले पनि सन् २०११ देखि विश्व दुध दिवस मनाउन थालेको हो ।

दुध दिवस २०२५ राष्ट्रिय दुग्ध विकास बोर्डको साथै पशु सेवा बिभाग, प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेश, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी संघ, नेपाल डेरी साइन्स एसोसियसनको सहकार्यमा मनाइएको हो ।

ADV

सम्बन्धित खबर