काठमाडौं : राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिको बैठक भाँडिएको छ ।
काठमाडौँको एक पार्टी प्यालेसमा बुधबार बोलाइएको समीक्षा तथा आन्दोलनको नयाँ रूपरेखाका कार्यक्रम तय गर्ने भनिएको बैठक युवाहरूले होहल्ला गरेपछि भाँडिएको हो ।
दोस्रो चरणको आन्दोलनको घोषणा गर्न बसेको बैठक राजावादी समर्थकबीचको विवादले आगामी आन्दोलन भने अन्योलमा परेको छ ।
नवराज सुवेदी नेतृत्वमा रहेको समितिले दोस्रो चरणको रणनीतिक आन्दोलन गर्न बैठक बोलाएको थियो । बैठकामा संयोजक सुवेदीसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापासहितका नेताहरू सहभागी थिए ।
तर बैठकमा सहभागी युवाहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि युवाहरूले उनको दोहारो भूमिका रहेको भन्दै होहल्ला गरेका थिए ।
बैठकमा सहभागी एक नेताका अनुुसार पहिलो चरणको बैठकको समीक्षा गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्नुपर्ने कार्यक्रम थियो । बैठक सुरु हुने बित्तिकै लिङ्देन संसद्मा व्यस्त रहेको भन्दै युवाहरू आक्रोशित बनेका थिए ।
‘संसद् नै चाहिएको भए किन राजतन्त्रको समर्थनमा आन्दोलन गर्नुपर्यो ?’ भन्दै युवाहरूले लिङदेनप्रति आक्रोश व्यक्ति गरेका थिए । युवाहरूले होहल्ला गरेपछि बैठक नै प्रभावित भएको थियो ।
होहल्लाकैबीच कोल्न सुरु गरेका अध्यक्ष थापा बोल्नै पाएन । थापाले बैठक सामसुम पार्न प्रयास गरेपनि होहल्ला नरोकिएपनि संयोजक सुवेदीले बैठक स्थगित गरेका थिए ।
छुट्टै भेला
लिङदेनले दोहोरो भूमिका देखाएको भन्दै युवाहरूले छुट्टै बैठक गरेका छन् । उनीहरूले संसद र आन्दोलनमा एकैपटक उपस्थिति हुन नसक्ने भन्दै अलगै छलफल गरेका हुन् । एक युवाले भने।, एक नेताको दोहोरो भूमिका देदिएको छ । राजा ल्याउन सडकमा आउने अनि गणतन्त्रवादीसँग ‘कफी डेट’मा जाने पनि हुन्छ ।’
युवाहरूले छुट्टै बैठक गरेपनि राजावादी समूह विभाजित भएको नमिल्ने संयोजक सुवेदी पक्षधरहरू बताउँछन् ।
राप्रपा केन्द्रीय सदस्य देवेन्द्र प्रधानले केही साथीहरूले आफ्नो विमति राखेको बताउँदै यसबाट राजावादी समूह विभाजित भएको नमिल्ने स्पष्ट पारे । ‘उनीहरूको असन्तुष्टि जायज हो । यसलाई विभाजित भएको भन्न मिल्दैन्,’ सदस्य प्रधानले भने, ‘बैठकमा नोकझोकलाई ठूलो विषय मानुपर्ने केही कारण छैन्, हामी मिलेर नै जान्छौं ।’
मन पनि मिल्ने
राजा फर्काउने उद्देश्यका साथ मोर्चा बने पनि यसभित्र समयसमयमा असन्तुष्टि पनि देखिदै गएको छ ।
सबै राजावादी समूहलाई एकजुट गर्ने उद्देश्यसहित पूर्वपञ्च सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बनेपनि सर्वस्वीकार्य हुन सकेको छैन । विशेषगरी २ राजावादी नेताहरू थापा र लिङ्देन समिति मातहतको निर्देशक समितिमा बस्न अस्वीकार गरेका थिए । उक्त समितिप्रति लिङ्देन पक्ष सुरुदेखि नै असन्तुष्ट थिए । समिति घोषणा भएको लगतै उनी समितिमा नरहेको बताएका थिए । तर लिङ्देन मनभारी लिएर सुवेदीको नेतृत्व स्वीकार गरेका छन् ।
आफूलाई पूर्वराजासँग नजिक बन्ने होडबाजीले समेत राजावादी समूहबीच फाटो देखिएको छ ।
‘आफूलाई पूर्वराजाको नजिक देखाउने प्रवृत्तिले राजावादी समूहमा देखिँदै आएको छ । लिङ्देन, दुर्गा प्रसाईं वा अरु जोकोहीले पनि पूर्वराजाको निकट देखाउन चाहेका छन्’, राजावादी समूहका एक नेता बताउँछन् ।
उनले भने, ‘कसैले आन्दोलनलाई महत्त्कांक्षाका साथ हेरेका छन् । कोही आफ्नो अस्तित्व हराउँछ कि भन्ने डरमा पनि होलान् ।’ साझा उद्देश्य पूरा गर्नका लागि निःस्वार्थरूपमा लाग्नुपर्ने भएपनि राजावादी समूहभित्र त्यस्तो त्याग गर्न नेता कोही नरेहेको ती नेताको भनाइ छ ।
आन्दोलन विकेन्द्रीकरण गरिने
समितिले जारी आन्दोलनलाई विकेन्द्रित गर्दै जिल्ला जिल्ला केन्द्रित गर्ने भएको छ । समितिले पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुप परिमार्जन गरी जिल्ला जिल्ला केन्द्रित गर्न लागेको हो ।