नेपाली चलचित्रमा मात्र नभएर भोजपुरी चलचित्रमा पनि निर्देशनमार्फत तारिफ बटुल्न सफल नाम हो जनकराज खकुरेल । नेपाली, भोजपुरी मात्र नभएर आफू अंग्रेजी, हिन्दी, चाइनिज, फ्रेन्चलगायत भाषाको चलचित्र निर्देशन गर्र्न सक्छु भन्ने उनले सहयाक, मुख्य सहायक निर्देशक हुँदै निर्देशककारुपम आफूलाई स्थापित गरेका हुन् । उनले निर्देशन गरेका चलचित्रले व्यवसायिक सफलता चुम्नु सफल भएका छन् । खकुरेल ‘द मार्शल आर्ट’, ‘संघर्ष’, ‘लुटल जिन्दगी’, ‘सम्झिदिए पुग्छ’, ‘खुड्किलो’ ‘रामजाने’, ‘देशप्रेमी’लगायतका चलचित्रमार्फत दर्शकको तारिफ बटुल्न सफल छन् । सफल र व्यवसायिक चलचित्र निर्देशक खकुरेलसँग मध्यान्ह दैनिकका लागि प्रतिक्षा गौतमले गरेको कुराकानीको सम्पादित अंशः
कसरी आउनुभयो यो क्षेत्रमा ?
बाल्यकालदेखि नै कलाक्षेत्रमा मेरो विशेष रुची थियो । चलचित्र भनेपछि म हुरुक्कै हुन्थें । सानैदेखि अत्यधिक चलचित्र हेर्न रुचाउने म उच्च शिक्षाका लागि काठमाडौं आएसँगै यो क्षेत्रमा विस्तारै विस्तारै सामेल हुँदै गएँ । सानैदेखिको मेरो अन्तरआत्मामा रहेको यो क्षेत्रको लगावले मलाई यसक्षेत्रमा तान्दै ल्यायो ।
यो क्षेत्रमा कहिलेदेखि हुनुहुन्छ ?
सानैदेखि लगाव रहेको मैले माथि नै भनें । पछि यसका विविध पाटाहरू बुझ्दै गएँ । यस सम्बन्धि अध्ययन गर्दै सिक्दै गएँ । २०६४ तिर सहायक निर्देशककारुपमा यो क्षेत्रमा मेरो पाइला अगाडि बढ्यो । सुरुमा सहायक निर्देशक भूमिकाबाट यसक्षेत्रमा आएँ । मुख्य निर्देशक हुँदै निर्देशनमा हात हालें ।राम्रो हुँदै गयो ।
त्यो समयदेखि अहिलेसम्म आउँदा कस्तो लाग्छ ?
एउटा लामो जम्प मारेँ जस्तो लाग्छ । म हरेक कामलाई लगावका साथ काम गर्छु । हरेक विषयको गहिराइमा पुग्ने, चुनौती मोल्ने र त्यसको सामना गर्ने मेरो बाल्यकालदेखिको स्वभावले नै जस्तोसुकै चुनौतीको सामना गर्दै आजको अवस्थामा आइपुगेको छु ।
यो क्षेत्रबाट कस्तो ‘रेस्पोन्स’ पाउनु भएको छ त ?
म लामो समयदेखि यो क्षेत्रमा छु । म जहिले आफ्नो काम कसरी उत्कृष्ट भन्दा पनि सर्वोत्कृष्ट बनाउने भन्नेमा रहन्छु । मेरा कामले दर्शकको साथ पाउँदै जा‘दा तपाईंले भने जस्तै ‘रेस्पोन्स’को रुपमा विभिन्न पुरस्कार, अवार्ड र सम्मानहरू प्राप्त हुँदै गए । यसले आफैलाई एकातिर हौसला प्रदान गर्ने रहेछ भने अर्को तिर थप चुनौति पनि बन्दो रहेछ की अझ राम्रो कसरी गर्ने भनेर । यो माया, साथ र सहयोगका लागि सबैप्रति आभारी छु । म आफूलाई मल्टी ट्यालेन्ट भन्छु त्यसैले सबैतिर गर्दा गदै राम्रो हुँदै गएको छ ।
नेपालका चलचित्रमा मात्र सिमित नभएर यहाँले नेपाल बाहिरका चलचित्रमा पनि हात हाल्नुभयो ?
काम गर्दै जाँदा भोजपुरी चलचित्रका लागि अफर आयो । त्यहाँ पनि केही चलचित्र गरियो । राम्रै भयो । नेपाली निर्देशकका रुपमा नेपाल बाहिर आफ्नो काम देखाउन पाउदा गर्वले छाति फुल्छ । म नेपाली, अंग्रेजी, हिन्दी, भोजपुरी, चाइनिज, फ्रेन्चलगायत भाषाको चलचित्र निर्देशन गर्र्न सक्छु र गरिरहेको छु ।
एउटा राम्रो सिनेमा या भनौं पूर्ण सिनेमाका लागि सबैभन्दा महत्वपूर्ण कुरा के हो जस्तो लाग्छ ?
मैले नेपालमा देखेको चाहिँ अवार्डहरू दिइन्छ राम्रो भनेर । व्यवसायिक रुपमा सफल भएका चलचित्रले नै प्रायः अवार्ड पाएका हुन्छन् । मलाई चाहिँ त्यस्तो लाग्दैन । मेरो चलचित्रलाई हेर्ने दृष्टिकोण केही फरक छ । व्यवसायिक सफल चलचित्र मात्रै राम्रो चलचित्र हो भन्ने होइन अन्य कतिपय राम्रा चलचित्रले पनि व्यवसायिक सफलता प्राप्त गर्न नसकेका हुन सक्छन् । व्यवसायिक सफल नभएको चलचित्र पनि उत्कृष्ट चलचित्र हुन सक्छ ।
निर्देशन कतिको गाह्रो काम हो ?
निर्देशन भनेको चलचित्रको टिम क्याप्टेन हो । एउटा राम्रो चलचित्र बन्नका लागि सम्पूर्ण टिमको उतिकै मिहिनेत जरुरी हुन्छ । तर पनि के हो भने टिम क्याप्टेन भए पछि उसले सबै कुरालाई ध्यान दिनु जरुरी हुन्छ । निर्देशकसँग प्रशस्त तत सम्बन्धि ज्ञान र अनुभव हुनुपर्छ भन्ने लाग्छ मलाई; एक्सन कट मात्र निर्देशन होइन ।
निर्देशन के हो ?
एउटा अमुक कथालाई जिवन्त बनाउने शैली हो निर्देशन । यसभित्र थुप्रै पाटाहरु रहेका हुन्छन् । तथापि कुनै पनि कथालाई बस्तु परक ढंगले पात्रहरूद्वारा जिवन्तता दिन सक्नु निर्देशन हो । एउटा राम्रो निर्देशकभित्र नयाँ नयाँ कुरा दिन सक्ने खुबी हुनुपर्छ । नवीन कला हुनु पर्छ ।
नेपाली चलचित्रको अहिलेको अवस्था कस्तो छ ?
पहिले भन्दा सुधारिएर गएको महशुस गर्छु म । सिनेमा पनि स्तरीय बन्ने क्रम बढेको छ । निक्कै सृजनशील कामहरू हुन थालेका छन् । नेपाली चलचित्रको बजार पनि विस्तार भइरहेको छ । अहिले देश मात्र होइन विदेशमा पनि नेपाली चलचित्रप्रतिको लगाव बढेर गएको छ । यो सुखदपक्ष हो ।
तर यतिवेला त कोरोना भाइरसको महामारीका कारण यो क्षेत्र नराम्ररी प्रभावित भयो नि, होइन ?
हो, कोरोना संक्रमण फैलिंदैजा‘दा यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन, निषेधज्ञाले सबैतिर ठप्प भयो । मनोरञ्जन क्षेत्र त सबैभन्दा बढी प्रभावित भयो । २०७६को चैतदेखि यसको मारमा छौं, तपाईं हामी सबै । सँधै यस्तै नहोला । फेरि हामी सबै नयाँ जोश जा‘गरका साथ जुटने छौं भन्ने आशा छ ।
नेपाली चलचित्रको स्तरबृद्धिका लागि के–कस्ता पहल हुन आवश्यक ठान्नुहुन्छ ?
हामीले चलचित्रको लागी प्रयास गर्नेकुरा छँदैछ, गरिनै रहेका छौं। तर, यसको लागि सरकारी स्तरबाट पनि प्रयास गरिनुपर्छ भन्ने लाग्छ । नत्र सधै कुन्नि खै के ताप्के नताती विंड ताते जस्तै हुन्छ । साथै हामीले गुणस्तरीय चलचित्र दिनसक्नु पर्छ । दर्शकलाई झुक्याउन सकिदैन आजभोलि । उहाँहरू हामीभन्दा एक कदम अगाडि सोचिरहनु भएको हुन्छ । गुणस्तरीय चलचित्र र यसको उचित व्यवस्थापन हुन गयो भने हाम्रा चलचित्रको सफलतालाई कसैले रोक्न सक्दैन ।
तपाईको अबको लक्ष्य या योजना ?
म आफूलाई कला क्षेत्रभन्दा बाहिर कहीं कतै राख्नै सक्दिन । म हर क्षण यही क्षेत्रका विषयमा चिन्तन गर्ने गर्छु । हिजोभन्दा अझ राम्रा राम्रा चलचित्र दर्शकमाझ पस्किनु नै मेरो योजना या लक्ष्य रहेको हुन्छ । हरसमय त्यसैमा नै तल्लिन हुन्छु । मेरो अर्को एउटै सपना छ त्यो हो ओस्कार जाने चलचित्र निर्माण गर्ने । यसका लागि म हरसम्भव प्रयासमा हुने छु । आशा छ एक दिन मेरो सपना विपनामा परिणत हुने छ । जुन हामी सबैका लागि गर्वको विषय हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies