२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाल व्यवसायी संघ कतारले गर्‍यो राजदूत ढकाललाई सम्मानसहित बिदाइ

ADV
तिलु शर्मा पौडेल
२०८१ असार २७ गते १५:२३
नेपाल व्यवसायी संघ कतारले गर्‍यो राजदूत ढकाललाई सम्मानसहित बिदाइ

दोहा, कतार : नेपाल व्यवसायी संघ कतार एलएलसी (जी)ले आफ्ना संरक्षक तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकाललाई सम्मानसहित बिदाइ गरेको छ । बुधबार साँझ रेडीसन ब्लु होटेलमा एक कार्यक्रमको आयोजना गरेर संघले राजदूत ढकाललाई सम्मान पत्र र मायाको चिनोले सम्मान गर्दै बिदाइ गरेको हो ।

२०७९ असार २२ मा कतारका लागि नेपाली राजदूत भएर आएका ढकाल नेपाल सरकारले गत जेठ २४ गते भारत र अमेरिकालगायत ११ मुलुकका राजदूतलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने निर्णय गरेअनुरूप उनी आउँदो सोमबार स्वदेश फिर्ता हुँदैछन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका ढकालले संघसँग मिलेर ऐतिहासिक कार्यसम्पादन गरिएको स्मरण गरे । उनले कतारको अलबिदा पार्कमा सन् २०२३ बाट शुरु भएको दोहा एक्सपो सहकार्य गर्दै भव्य र सभ्यरूपमा सफल बनाइएको स्मरण गरे । ढकालले कतारका अमिरको नेपाल भ्रमणले सकारात्मक ऊर्जा दिएको बताउँदै अब आउने राजदूतले फलोअप गरेमा थुप्रै कार्यसम्पादन हुने विश्वास व्यक्त गरे  ।

राजदूत ढकालले करिब २ दशकदेखि श्रमिक सम्झौता पुन: अध्ययन गरी नयाँ शिराबाट नवीकरण गर्न नसकेकोमा दु:ख व्यक्त गर्दै श्रम सम्झौता राजदूतको मात्र प्रयासले सफल नहुने स्पष्ट पारे । उनले खाडीबाट नेपाल पुग्दा हेरिने दृष्टिकोण अज्ञानतका कारण हुने गरेको स्मरण गर्दै खाडीका बारेमा सुनेर नभइ त्यहाँ पुगेर मूल्यांकन गर्नु भनि बुझाउन आवश्यक रहेको बताए । उनले आफ्नो फिर्ती सम्बन्धमा विधि प्रक्रिया स्वीकार्दै राजदूतको नियुक्ति पाउँदै गर्दा आफू बाहेकका पाँच वटा राजदूत जस्तै सरकार फेरिने बित्तिकै फर्कन पर्छ भन्ने स्वीकारेर राजदूतका रूपमा आएको बताए । कतारमा रहेर राजनीति गर्नेहरूप्रति लक्षित गर्दै उनले दूतावासमा जनशक्ति कम भएको र आकस्मिक कोष नभएको हुँदा आफ्नो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ भने कर्मचारी र कोष निर्माणका लागि राजनीति गरिदिन आग्रह गरे ।

राजदूत सरकार फेरिएसँगै फिर्ता जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि नीतिगत सुधारको आवश्यकता रहेको बताउँदै उनले जुन देशको राजदूतले पनि पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । उनले आफू जहाँ रहेपनि श्रमिकका लागि सहयोग र सबैसँग सहकार्य गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संघका सल्लाहकार भोज बहादुर नेपाल (सागर)ले कतारमा नेपालीले पछिल्लो ३० वर्ष गरेको मिहिनेतको फल राजदूतले नेपालमा कतारका अमिरको भ्रमण गराएर प्रदान गरेको बताए । संघका संरक्षक सदस्य बद्री प्रसाद पाण्डेले नेपाली व्यवसायीलाई हेर्ने नजर गलत स्थापित रहेकोमा पछिल्लो समय व्यवसायी बढेसँगै सकारात्मक धारमा बदलिएको बताए । उनले चार जना राजदूतलाई संघले बिदाइ गरिसकेको स्मरण गर्दै नियुक्ति लिएर आएसँगै फर्कने दिन गन्नुपर्ने गलत व्यवस्था दोषी रहेको बताए । त्यस्तै आफ्नो शुभकामना मन्तव्य राख्दै संरक्षक डा देवकाजी डंगोलले राजदूत ढकालले कतारका अमिरलाई नेपालको भ्रमण गराउने ऐतिहासिक कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

संघका उपाध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके)ले स्वागत मन्तव्य राख्दै छोटो समयमै कतारबाट लिन सक्ने लाभहरू राजदूतमार्फत नेपालले लिएको बताए । संघका महासचिव शंकर न्यौपानेले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष महेन्द्र चम्लागाइँले ढकालको कार्यकालमा नियोगसँग मिलेर धेरै राम्रा कार्य गरिएको स्मरण गरे । कार्यक्रममा नियोग परिवारसहित संघमा आबद्ध व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise