नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार एक वक्तव्य जारी गरेर भदौभित्रै पार्टीको चौधौं महाधिवेशन हुने जानकारी दिएका छन् । सभापति देउवाले महाधिवेशन हुनेमा आशंका नगर्न पनि अपील गरेका छन् । देउवाको अपील छ– २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन मात्र हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु । पार्टीको महाधिवेशन प्रावधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैलै राम्ररी बुझेको छु । अर्थात् सभापति देउवाले महाधिवेशनको मितिबारे मात्रै प्रष्ट पारेका छैनन्, महाधिवेशनको परिभाषा पनि दिएका छन् । सभापति देउवाको दावी मान्ने हो भने उनी लोकतान्त्रिक राजनीतिप्रति प्रतिबद्ध छन् । सँगै प्रश्न पनि उठाएका छन्, महाधिवेशन नहुने मत पनि काँग्रेसभित्र हाबी भएको छ ।
यदि, महाधिवेशन हुन्न भन्ने मनोविज्ञान विकसित भएको अनुभूति सभापति देउवाले गरेका थिए भने यस्ता शब्द र बक्तव्यकै जरुरी पर्ने थिएन । भौतिक रुपमा वा भर्चुअल माध्यमबाट बैठक बोलाएर महाधिवेशनबारे प्रष्ट पार्ने थिए । तर त्यसो नगरेर सार्वजनिक खपत हुनेगरी सभापति देउवाले बक्तव्य जारी गर्दै महाधिवेशनको औचित्य, उपदेयिता र महत्व समेत खुलाएका छन् । तर वास्तविकता भने त्यस्तो छैन । सभापति देउवा पार्टीभित्रको लोकतन्त्रमा प्रतिबद्ध हुनेथिए भने एक वर्ष अगाडि नै चौधौ महाधिवेशन सम्पन्न भइसकेको हुन्थ्यो, पार्टी नेतृत्व पुनर्संचित भइसक्ने थियो । त्यसो हुन सकेन ।
विश्वव्यापी कोरोना महामारीबाट नेपाल पनि अछुतो नरहँदा गएको वर्ष ११ चैतबाट देशब्यापी लकडाउन र खण्डित रुपमा निषेधाज्ञा शुरु भयो । केही समय सामान्य अवस्था सिर्जना भइसकेको थियो, तर फेरि दोस्रो लहरको महामारीमा मुलुक प्रताडित हुन पुगेको छ । र सभापति देउवा मात्रै नभएर दुनियाँलाई प्रष्ट थाहा छ– कोरोना महामारीले गर्दा आगामी भदौमा महाधिवेशन संभव छैन । यदि भयो भने पनि त्यो विधि पुर्याउने काम मात्रै हुनेछ । यसबारे देउवाले आन्तरिक छलफल र निर्णय लिएर संवैधानिक बाध्यता फुकाउनेतिर लाग्नुपर्ने थियो । साढे पाँच वर्षभित्र महाधिवेशन गराउनैपर्ने संवैधानिक बाध्यता रहेकाले भदौभित्र काँग्रेसको महाधिवेशन हुनुपर्छ । तर प्राविधिक रुपले नै संभव नभएकाले यसबारे प्रष्ट पार्नु जरुरी थियो, अहिले संवैधानिक प्रक्रिया पूरा गरेर वास्तविक महाधिवेशन केही समय सार्नुपर्ने हो । अहिलेका निम्ति यसबाहेक अर्को विकल्प पनि देखिन्न । तर त्यसतर्फ ध्यान नदिने र महाधिवेशन निश्चित मितिमै हुने सार्वजनिक दावी र महाधिवेशनको औचित्यबारे वर्णन गरिनु साचो अर्थमा लोकतन्त्र हुर्कने प्रक्रिया र अवस्था होइन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies