२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

एसियन एम्बेस्डर ग्रुपद्वारा नेपाली राजदूत ढकालको बिदाइ

ADV
तिलु शर्मा पौडेल
२०८१ असार २७ गते १७:५८
एसियन एम्बेस्डर ग्रुपद्वारा नेपाली राजदूत ढकालको बिदाइ

दोहा, कतार : एसियन मुलुकहरूका राजदूतहरूको संस्था एसियन एम्बेस्डर ग्रुपले कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकाललाई सम्मानसहित बिदाइ गरेको छ । ग्रुपका अध्यक्ष एवम् डीएन बहराइनका राजदूत मोहम्मद बहराइन अबूबकरको अध्यक्षतामा बुधबार साँझ नेपाली नियोगमा भेटघाट तथा बिदाइ कार्यक्रमको आयोजना गर्दै ढकाललाई बिदाइ तथा सम्मान गरिएको हो ।

कार्यक्रममा अध्यक्ष अबूबकरले एसियन मुलुकका कतारस्थित २५ वटा राष्ट्रका राजदूतहरूको प्रतिनिधित्व गर्दै शुभकामनासहित उपहार प्रदान गरी ढकाललाई बिदाइ गरे । कार्यक्रममा एसियन मुलुकका अधिकांश देशका राजदूतहरूको उपस्थिति रहेको थियो । यसरी दूतावासमै पुगेर संयुक्तरूपमा राजदूतको बिदाइ गरिएको इतिहासमै पहिलो पटक हो ।

२०७९ असार २२ मा कतारका लागि नेपाली राजदूत भएर आएका ढकाल नेपाल सरकारले गत जेठ २४ गते भारत र अमेरिकालगायत ११ मुलुकका राजदूतलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने निर्णय गरेअनुरूप आउँदो सोमबार स्वदेश फिर्ता हुँदै छन् । एसियन ग्रुपका राजदूतहरूले २ वर्षको छोटो कार्यकालमा राजदूत ढकालले नेपाल कतारको कूटनैतिक सम्बन्धमा थप आयाम हुने गरी कतारका अमिरको ऐतिहासिक नेपाल भ्रमण गराउन सफल भएकोमा बधाई दिए ।

सौहार्द र मैत्रीपूर्ण सम्बन्ध स्थापित गरी फर्किन लागेको भन्दै राजदूतहरूले ढकालको आगामी जीवनमा सफलताको शुभकामना दिँदै व्यक्तिगत तथा मित्रवत् सम्बन्ध निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा राजदूत ढकालले भावुक हुँदै एसियन ग्रुपका राजदूतहरू दूतावासमै आएर यसरी बिदाइ गरिरहँदा आफूलाई अत्यन्तै सुखद र अविस्मरणीय पल बनेको भन्दै कृतज्ञता व्यक्त गरे । ढकालले सबै देशका राजदूतलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्दै नेपालमा स्वागत गर्ने अवसर आफूलाई प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गरे । आफू जहाँ रहे पनि मित्रवत् सम्बन्धलाई कायम राख्ने ढकालले प्रतिबद्धता व्यक्त गरे ।  

कार्यक्रममा नेपाल र इरानसँगको सम्बन्धलाई थप सुदृढीकरण गर्दै नयाँ रूप दिन राजदूत ढकालले इरानका परराष्ट्र राज्यमन्त्रीसँगको निरन्तर भेट र इरानका राजदूतसँगको संवादबाट इरानलाई हेर्ने कार्यक्षेत्र कतार अवस्थित नेपाली दूतावासबाट होस् भन्ने मनसायलाई मध्यनजर गरी नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई सिफारिस गरी कार्य अगाडि बढाइएकोसमेत जानकारी दिए । उक्त प्रयासको प्रशंसा गर्दै इरानका राजदूतलगायत अन्य राजदूतहरूले समेत कतार वर्तमान अवस्थामा एसियन मुलुकको ट्रान्जिट हब भएकाले कतार अवस्थित नेपाली दूतावासबाट इरान हेर्ने गरी काम भए नेपाल-इरान सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise