२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

खाडी मुलुकमा बढ्दो सुरक्षा चिन्ता

shivam cement
२०८२ असार ९ गते ०६:१०
खाडी मुलुकमा बढ्दो सुरक्षा चिन्ता

काठमाडौं : आफ्ना आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणको बदलामा इरानले खाडी मुलुकमा रहेका अमेरिकी सम्पत्ति र सैनिक अड्डाहरूमा आक्रमण गर्न सक्ने आंकलन गरिएको छ । खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखडा र सम्पत्तिमा आक्रमण भए ती क्षेत्रमा वैदेशिक रोजगारमा रहेका लाखौं नेपाली प्रभावित हुने देखिएको छ ।

बहराइन र कुवेतले आइतबार नै इरान द्वन्द्व आफ्नो क्षेत्रमा फैलिन सक्ने भन्दै सुरक्षा सम्भावनाका लागि तयारी गरेको बताएका छन् । इरानको आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि बहराइनले सवारी चालकहरूलाई मुख्य सडकहरूबाट टाढा रहन आग्रह गरेको छ भने कुवेतले मन्त्रालय परिसरमा आश्रयहरू स्थापना गरेको बताएको छ ।

आइतबार बिहान इरानका तीन मुख्य आणविक स्थलहरूमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई शान्ति सम्झौतामा सहमत नभए थप विनाशकारी आक्रमणहरूको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

उता इरानले अमेरिकाले आफ्नो मुलुकमा आक्रमण गरेमा अमेरिकी सैन्य अड्डाहरूसहित खाडी  क्षेत्रमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएको छ ।

बहराइनमा अमेरिकी नौसेनाको पाँचौं फ्लीटको मुख्यालय रहेकोे छ भने कुवेतमा धेरै अमेरिकी अड्डाहरू छन् । बहराइनको आन्तरिक मन्त्रालयले क्षेत्रीय सुरक्षा स्थितिमा हालैका विकासक्रमहरूलाई ध्यानमा राख्दै  मुख्य सडकहरू प्रयोग नगर्न आग्रह गरेको छ ।

निजामती सेवा ब्युरोका अनुसार बढ्दो तनावलाई ध्यानमा राखेर बहराइनले आइतबार ७० प्रतिशत सरकारी कर्मचारीहरूलाई अर्को सूचना नभएसम्म घरबाट काम गर्न भनेको छ ।

अमेरिकी अधिकारीका अनुसार हाल लगभग ३० हजार अमेरिकी सेना मध्यपूर्व अर्थात् खाडी मुलुकमा छन् ।

ठूलो संख्यामा नेपाली कार्यरत सबै खाडी मुलुकमा अमेरिकी सैनिक बेस रहेका छन् । ती बेसमा आक्रमण भए नेपाली कामदार समस्यामा पर्ने अनुमान छ ।

कतार ठूलो संख्यामा नेपाली कार्यरत रहेकोे सानो मुलुक हो । कतारको अल उदेद एयर बेसमा अमेरिकी वायु सेना र विशेष अपरेशन फोर्सहरूका बेस रहेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)को अल दहफ्रा एयर बेसमा अमेरिकी सेनाको ३८०औं एयर एक्सपिडिसनरी विङ रहेको छ । त्यहाँ एमक्यू–९ रिपर्सजस्ता ड्रोनहरू पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

इराकमा अमेरिकाको अल–असद र अर्बिल हवाई अड्डाहरूसहित विभिन्न प्रतिष्ठानहरूमा अमेरिकी सेनाहरू रहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise