लक्ष्मण पोखरेल/मध्यान्ह
काठमाडौं : चालिसको दशकको उत्तार्धमा नेपाली सांगीतिक आकाशमा एउटा सांगीतिक जोडीको चर्चा शिखरमा थियो । संगीतकार राजु सिंह र गीतकार वसन्त वित्यासी थापाको नामले प्रख्यात जोडी त्यो समयको एक लोभ लाग्दो जोडीमा पर्दथ्थो । एकसे एक सफल गीतहरु राजु वसन्तको नाममा बजारमा आउँथे । हरेक एफएम रेडियो पत्रपत्रिका जताततै गीतकार वसन्त र संगीतकार राजु सिंहको चर्चाले भरिन्थे ।
रेडियो र एफएमहरुमा राजु र वसन्तका गीतहरुले बेग्लै छाप छाडेका थिए । दर्शक श्रोताहरु यो जोडीको गीतको प्रतिक्षामा हुन्थे । रित्तो सडकमा, नजरको दोषि बनी, हिँड्दा कहिले ठेस लाग्छ, हिजो आज गाउँ भरि हल्ला छ, आश्वासन नदेउ, बिन्ती आलो मेरो घाउमा,कसको आँखा लाग्यो बरै, बिरानो भो परदेशी लगायतका दर्जनौं सदवाहार गीतहरु राजु वसन्तको नाममा हामी अहिले पनि सुन्न सक्छौं ।सांगीतिक क्षेत्रमा गीतकार र संगीतकारको जोडीको रुपमा सबैभन्दा बढी रुचाइएको राजु र वसन्तको यो जोडी मह जोडी जस्तै लोकप्रिय थियो त्यो बेला ।
संगीतकार राजु सिंह प्रतिबिम्ब व्यान्ड मार्फत नेपाली सांगीतिक आकाशमा बेग्लै रफ्तारमा दौडिरहेका थिए । २०४६ सालदेखि २०४८ सालसम्म यो व्यान्डले नेपाली सांगीतिक क्षेत्रमा एक किसिमको तहल्का नै मच्चाएको थियो । प्रतिबिम्ब व्यान्ड त्यो बेलाको नेपथ्य, कन्दरा, मध्याह्न लगायतका व्यान्ड जस्तै चर्चित थियो । जोन, धनुषा,सुदीप रिजाल, पारु लामा, सिमा पोखरेल,पद्यमा शाह,सृजना श्रेष्ठ,रिमा गुरुङ, पुनम प्रधान जस्ता युवा गायक गायिकाहरु प्रतिबिम्बमा जोडिएका थिए । लोचन भट्टराई, रामकृण्ण ढकाल,सुकमीत गुरुङ, दिप तुलाधार, गोपालमान सिंह लगायतका नाम चलेका हस्तीहरुको संलग्नताले प्रतिबिम्बको उचाई झन् चुलिँदो थियो ।
कहाँ तिम्रो मायालु,सुन केसरी त्यो खोली,नजरको दोषि बनी, आकाशको बादल सरी,बास देउ मलाई, सम्झना छ छाती भरी जस्ता हिट गीतहरु प्रतिबिम्बको नाममा रेडियो र एफएमहरुमा खुब गुन्जिन्थे । वसन्तलाई प्रतिबिम्बका ती कर्णप्रियहरु गीतहरुले छोएको थियो । उनी प्रतिबिम्बको ठूलो शुभचिन्तक भइसकेका थिए । त्यति बेलासम्म वसन्तप्रतिबिम्बसँगै राजुको संगीतको पनि प्रशंसक बनिसकेका थिए ।
त्यसो त वसन्त बेला बखत गीत कविता नलेख्ने होइनन् । उनलाई गीत संगीतमा सानैदेखि रुचि थियो । आफ्ना गीतहरु रेडियो एफएमहरुमा बजेको अरुले वाह वाह भन्दै तारिफ गरेको सुन्न आतुर थिए । २०४८ सालको आसपासमा उनै संगीतकार राजु सिंहसँगको एक भेटले उनको गीतकार बन्ने सपना साकार बनाइदियो ।
संगीतकार राजु सिंह प्रतिबिम्बको दोस्रो भागको प्रचार प्रसारको क्रममा ठमेल आसपासमा व्यस्त थिए । राजु र वसन्तको पहिलो भेट त्यहीँ हुन पुग्यो । विस्तारै त्यो भेटघाट बाक्लिँदै जान थाल्यो र वसन्त राजु सिंह र प्रतिबिम्बसँग जोडिन पुगे । प्रतिबिम्बको एक नयाँ सदस्यका रुपमा वसन्तले प्रतिबिम्ब भाग तीन अबिरल एल्बममा एकल गीतकारको रुपमा प्रवेश पाए । राजु र वसन्तको सांगीतिक सहयात्रा त्यहीँबाट शुरु भयो ।
अविरल वर्षा जुनतारा लुकामारी खेल्दै छ प्रीयसीको सम्झनामा राजु र वसन्तको पहिलो रेकर्ड भएको गीत हो । यही गीतबाट शुरु भएको सहयात्रा आजसम्म उही गतिमा दौडिरहेको छ । अविरल एल्बमपछि यो जोडीले दर्जनौ एल्बमहरु सार्वजनिक गरिसकेको छ । ठूल्नानी,गहना,मित्रता,दशक राजु र वसन्तका चर्चित एल्बम मध्येमा पर्दछन् । यी एल्बमहरु प्रतिबिम्ब व्यान्ड बन्द भएपछि आएका एल्बमहरु हुन् ।
विभिन्न कारणवश सहमतिमा प्रतिबिम्ब व्यान्ड बन्द भएपछि यसका सदस्यहरु लाखापाखा लागे तर राजु र वसन्त सांगीतिक कर्ममा जोडी बनेर निरन्तर लागि रहे । नेपाली सांगीतिक आकाशमा एक पछि अर्को सफल गीतहरु दिँदै गए । रित्तो सडकमा, नजरको दोषी बनी, कस्को आँखा लाग्यो बरै, हिँड्दा कहिले ठेस लाग्छ,ठूल्नानी, लगायतका गीतहरु यो जोडीको चर्चित गीतहरुमा पर्दछन् ।
राम कृण्ण ढकाल, यम बराल, आनन्द कार्की,नविन के भट्टराई, सुनिता सुब्बा, रिमा गुरुड होडा,राजेशपायल राई, स्वरुपराज आचार्य, मोहन भुसाष,सपना श्री जोन, धनुषालगायतका गायक गायिकाहरुको आवाजले राजु र वसन्तको सिर्जनालाई अझ सुमुधुर बनाएको छ ।
नेपाली सांगीतिक आकाशमा यो जोडीको सहयात्रा तिसौंवर्षमा पुगेको छ । उही आत्मियता उही मित्रता र जोश आज पनि कायम छ राजु र वसन्तको । लामो यो सहयात्रामा एकले अर्कालाई दिएको सम्मान र विश्वास नै हाम्रो सम्बन्धको बलियो आधार हो भन्छन् संगीतकार राजु सिंह र गीतकार वसन्त वित्यासी थापा ।
सांगीतिक सहयात्राको सिल्भरजुब्ली पार गरिसकेको यो जोडीले यसैको उपलक्ष्यमा ‘तिमी मेरो साथी’ नामक एल्बम बजारमा ल्याउँदै छ । ‘तिमी मेरो साथी’का केही गीतहरु रेकर्ड भइसकेका छन् भने केही तयारीमा छन् ।
राजेशपायल राई, स्वरुपराज आचार्य, धर्वेन्द्र सेवान,रामकृण्ण ढकाल,रिमा गुरुङ लगायतका गायक गायिकाहरुले उक्त एल्बममा आवाज दिँदैछन् । ‘तिमी मेरो साथी’ यो जोडीको एक अर्काप्रति सम्मान र समर्पित एल्बम हो भने यो लामो सहयात्रामा माया र हौसला प्रदान गर्ने आमदर्शक श्रोताहरुप्रति समर्पित एल्बम पनि हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies