ललितपुर : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विभिन्न मुलुकमा काम गर्ने नेपाली श्रमिकको सम्मान हुनुपर्ने बताएका छन् ।
कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका)द्वारा आज आयोजित ‘हामी एप सार्वजनिक एवं आप्रवासन सम्मेलन’को शुभारम्भ गर्दै उनले नेपाली श्रमिकले बगाएको पसिनाका कारण गन्तव्य मुलुकको विकास भएको जनाउँदै सम्मानित श्रम र सुरक्षित आप्रवासनलाई जोड दिइएको बताए ।
“गन्तव्य मुलुकको आर्थिक विकासमा हाम्रा श्रमिक सहभागी छन्, उनीहरुको श्रमलाई सम्मान गर्नुपर्छ, वैदेशिक रोजगारमा १६ वर्षमा हाम्रा १४ हजार नेपालीले ज्यान गुमाएका छन् । श्रम गर्न गएको हो, ज्यान गुमाउन होइन, वैदेशिक रोजगारमा जानेहरूको उपयुक्त तरिकाले स्वास्थ्य परिक्षण हुन सकेको छैन, यसलाई पनि ध्यान दिनुपर्छ”, उनले भने ।
उनले श्रमसम्बन्धी सही सूचनाको जानकारी दिन श्रम संसार लागू गरेको बताउँदै १० वर्षमा नेपालबाट बाध्यात्मक श्रमका लागि विदेश जाने अवस्थाको अन्त्य हुने बताए ।
उनले नेपालीले कोरियालाई आकर्षक गन्तव्यका रुपमा मान्ने गरेको भन्दै यसलाई व्यवस्थापन गर्न आग्रह गरे ।
“हामी एप नेपाली श्रमिकको अधिकार सुरक्षाका लागि एक महत्वपूर्ण उपकरण हो र यसले व्यवस्थित आप्रवासन प्रक्रियामा मद्दत पुर्याउँछ । सरकार सुरक्षित आप्रवासन र सफल पुनःएकीकरण सुनिश्चित गर्ने नीतिहरू विकास गर्न प्रतिबद्ध छ”, उनले भने ।
नेपालका लागि कोरियाका राजदूत पार्क तेइ–यङले यस वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५१औं वार्षिकोत्सव रहेको बताउँदै यो संयुक्त कार्यक्रम दुई देशबीच जनस्तरको सम्बन्धमा सहकार्यको प्रतीक भएको बताए ।
‘हामी एप’ को परियोजना कोइकाद्वारा सन् २०२२ मा सुरु गरिएको ‘नेपालमा फर्किएका श्रमिकको स्थिर पुनःएकीकरणका लागि चरणगत समर्थन प्रणाली सुदृढीकरण’ परियोजनाको हिस्सा भएको बताइएको छ ।
‘हामी एप’बाट कोरियाको रोजगार अनुमति प्रणाली मार्फत कोरिया जाने नेपाली श्रमिकले पूर्व–प्रवास चरणमा दृष्टिकोण निर्माण, वित्तीय साक्षरता र जीवन सुरक्षासम्बन्धी तालिमका विषयमा, प्रवास चरणमा आवश्यक जानकारी र स्रोतमा पहुँच, साथै सप्ताहन्तमा आधारित सीप तथा उद्यमशीलता तालिम र प्रवासपश्चात्का चरणमा पुनःएकीकरणसम्बन्धी जानकारी, उद्यमशीलता तालिम र नयाँ व्यवसाय सुरु गर्न बीउ पुँजी सहयोगका विषयमा जानकारी तथा लाभ उठाउनसक्ने जानकारी गराइएको छ । यो एप श्रमिकको अधिकार सुदृढीकरणका लागि दिगो मोडेलका रूपमा स्थापित हुने जनाइएको छ ।