बझाङ : सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, उद्धार र राहत कार्यमा नेकपा (एमाले) बझाङले सांगठानिक संरचनामार्फत साहारा अभियान सञ्चालन गर्ने भएको छ ।
देउलेखमा सम्पन्न नेकपा (एमाले) जिल्ला कमिटी बझाङको तेस्रो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । जसअन्तर्गत पार्टी पङ्क्तिलाई विपद् व्यवस्थापनमा सक्रिय रूपमा परिचालन गरिने छ ।
बैठकले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का सन्दर्भमा आवश्यक कार्ययोजनासहित जिल्लाभर चेतनामूलक कार्यक्रम, स्थानीय तहसँगको समन्वय र स्वयंसेवक परिचालन गर्न विशेष जोड दिने भएको छ ।
नेकपा (एमाले) जिल्ला सचिव नयन बोहराका अनुसार, विपद् व्यवस्थापन गठन गरिनेछ, जसले जिल्लादेखि वडासम्मको संरचनामार्फत विपद्को पूर्वतयारी, जोखिम मूल्यांकन, उद्धार तथा राहतमा सहजीकरणको काम गर्नेछ ।
सचिव बोहराले भने,‘बाढी, पहिरो वा डुबानजस्ता सम्भावित जोखिमयुक्त बस्तीहरूको पहिचान गरिनेछ । त्यस्ता स्थानहरूलाई जोखिममुक्त बनाउन समन्वयात्मक पहल गरिनेछ ।’
उनका अनुसार, पालिकाहरूमा विपद्सम्बन्धी बजेट व्यवस्थापनको अवस्था बुझिनेछ र तयारीका लागि स्थानीय तहलाई अभिप्रेरित गरिनेछ । रेडक्रस र अन्य उद्धारका क्षेत्रमा क्रियाशील संघ–संस्थासँग सहकार्य गरेर राहत तथा पुनर्निर्माण कार्यलाई समेत प्रभावकारी बनाइनेछ ।
नेकपा एमालेका सह–सचिव तथा जनसंगठन विभाग प्रमुख पंकज भण्डारीले स्थानीय निकायसँगको सहकार्यमा उद्धार सामग्री तथा उपकरणहरूको अवस्थाबारे अनुगमन गरिने र त्यसलाई तयारी अवस्थामा राखिने बताए ।
भण्डारीले भने,‘मौसमसम्बन्धी पूर्वसूचना लिएर जनतालाई सचेत गराउने, सूचना प्रणालीलाई प्रभावकारी बनाउने र स्वयंसेवक तयार पार्ने कार्यमा पार्टी जुट्नेछ ।’ उनले जनसंगठनहरूलाई तालिममार्फत् विपद्मा संलग्न गराउने र स्थानीय स्तरमै तत्कालिक सहायताका लागि जनशक्ति परिचालन गरिने जानकारी दिए ।
जिल्ला अध्यक्ष दिलबहादुर भण्डारीले पार्टीको यो अभियान केवल सांगठनिक गतिविधि नभई सामाजिक उत्तरदायित्व पनि भएको बताए ।
उनले भने,‘विपद्का बेला राज्य संयन्त्रका साथमा राजनीतिक दलको सक्रिय भूमिका पनि अपरिहार्य हुन्छ । हामी जनताको पीडामा साथ दिन तयार छौं ।’
त्यस्तै, केन्द्रीय सदस्य तथा बझाङ जिल्ला प्रतिनिधिसभा इन्चार्ज ऐन महरले विपद् पूर्वतयारीलाई सुदृढ गर्न पार्टीले वडा तह सम्म अग्रसर हुनुपर्ने बताए ।
बझाङमा विपद न्यूनीकरणका लागि योजना बनाइ पार्टीले त्यही दिशामा काम गर्नुपर्ने महरको भनाइ छ ।
नेकपा एमालेले बझाङ जिल्लामा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सांगठनिक शक्ति प्रयोग गरेर यो अभियानले विपद्को बेला जनताको पीडा न्यूनीकरण गर्न ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।