काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नुपर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच सम्झदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विश्वको बदलिँदो परिवेशमा प्रविधि प्रयोगको ज्ञान, सीप र क्षमता भएका दक्षशक्ति उत्पादन गर्न सके रोजगारीको लागि धेरै चिन्ता गर्नु नपर्ने बताएका हुन् ।
मन्त्री भण्डारीले अब श्रमको बारेमा अध्ययनको आवश्यकता रहेको विषयमा जोड दिँदै काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डिप्लोमा इन लेवर स्टडिज कोर्ष सञ्चालन गर्ने गृहकार्य र छलफल अगाडि बढिरहेको बताए ।
उनले सूचनाको अभावमा स्वेदशी होस् वा वैदेशिक रोजगारीका लागि उपलब्ध भएका अवसरहरु पनि सही सदुपयोग गर्न नसकेको अवस्थालाई चिर्नका लागि सूचना पुर्याउने निकायहरुलाई सक्षम बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री भण्डारीले श्रम मन्त्रालयले दिने सबै सेवाहरु एकीकृत रुपमा प्रवाह गर्नका लागि ७५३ स्थानीय तहबाट स्थापना गरिएको रोजगार सेवा केन्द्रमार्फत सूचना प्रवाह गर्ने काम भइरहेको बताए । श्रम मन्त्रालयबाट प्रवाह हुने सबै सेवाहरुलाई डिजिटलाइजेसन गर्ने प्रक्रियामा अगाडि बढिरहेको उनको भनाइ छ ।
उनले श्रम र आप्रावसनको क्षेत्रलाई सर्वसुलभ बनाउन महत्वपूर्ण भूमिका खेल्ने स्विट्जरल्याण्ड सरकार र स्वीस कन्ट्र्याक्टलाई सहयोगका लागि आभार प्रकट गरे । उनले अगामी दिनमा पनि निरन्तर सहयोगका लागि आह्वान समेत गरे ।
मन्त्री भण्डारीले नेपालमा पहिलो पटक राष्ट्रिय आप्रवासन नीति करिब करिब टुंगिने अवस्थामा पुगेको जानकारी गराउँदै छिट्टै मन्त्रिपरिषदबाट पारित हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा श्रम, रोजगार तथा आप्रवासन सम्बन्धमा क्षमता विकास लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच त्रिपक्षीय एक सम्झदारी पत्रमा हस्ताक्षर भएको छ ।
श्रम सचिव डा. कृष्णहरि पुष्करले तालिम र सीपको बीचमा तादाम्यता नहुने, आवश्यकता र तालिमको बीचमा पनि तादाम्यता नहुने, एकै व्यक्तिले धेरै तालिम लिएको अवस्थामा यसलाई व्यवस्थापन गर्नका लागि यस त्रिपक्षीय सम्झदारीले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले तीन वटै संस्थाले एक अर्कालाई सहयोग, सहकार्य र प्रशंसा गर्दै श्रम आप्रवासनको कामलाई उच्च स्तरमा पुर्याउने आशा लिएको बताए ।