२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

वैदेशिक रोजगार व्यवसायीको प्रहरीलाई ध्यानाकर्षण- ‘पीडितको नाममा जबरजस्ती सहन सकिँदैन’

shivam cement
२०८२ असार १४ गते ०६:२०
वैदेशिक रोजगार व्यवसायीको प्रहरीलाई ध्यानाकर्षण- ‘पीडितको नाममा जबरजस्ती सहन सकिँदैन’

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुशीमा आबद्ध वैदेशिक रोजगार व्यवसायीहरूले पीडितको नाममा हुने बलजफ्तीबाट सुरक्षा प्रदान गर्न स्थानीय प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बिहान समितिले आयोजना गरेको ‘वैदेशिक रोजगार व्यवसाय र सुरक्षा निकायको भूमिका’ विषयक अन्तरक्रियामा त्यस क्षेत्रमा कार्यालय रहेका वैदेशिक रोजगार व्यवसायीले उक्त ध्यानाकर्षण गराएका हुन् ।

समितिका अध्यक्ष हरिबहादुर पाण्डे  क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पगेनी, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक निराजन थापा र बालाजु प्रहरीका निरीक्षक शरदविक्रम शाहलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, एकता समितिका उपाध्यक्ष तारानाथ अर्याल,  उपाध्यक्ष हरिश कुँवर, सल्लाहकार नरेन्द्रप्रसाद ढकाललगायतका वैदेशिक रोजगार व्यवसायीले सरकारले वैदेशिक रोजगारमा शून्य लागतको निर्णय गरेपनि त्यसमा व्यवसायीले असहमति जनाएको अवस्थामा त्यसको कार्यान्वयनमा जबरजस्ती गरेर व्यवसायीलाई दबाब दिनु न्यायोचित नभएको बताए ।

स्वेच्छाले वैदेशिक रोजगारमा गएका कामदार घरायसी वा अन्य कारणले विदेशको कानुनी व्यवस्था नबुझी तत्काल उद्धार गर्नुपर्नेलगायतका विषयमा दबाब दिँदै उनीहरूले व्यवसायीका कार्यालयमा अनधिकृत युट्युबर, पीडित तथा उद्धार संघ जस्ता असम्बन्धित पक्षको प्रवेशले असुरक्षा सिर्जना गरेकाले त्यसलाई समयमै नियन्त्रणमा लिन आग्रह गरे ।

कार्यक्रममा समितिका अध्यक्ष पाण्डेले सरकारले शून्य लागत भनेको, तर व्यवसायीले सुरुवातदेखि नै असहमति जनाएको अवस्थामा शून्य लागत कार्यान्वयन हुनुपर्छ भनेर अनुचित दबाब दिने र व्यवसायीहरूलाई तर्साउने तथा धम्की दिने प्रवृत्ति रहेको बताए । 

अध्यक्ष पाण्डेले पहिले ‘कुन्डले मुन्डले’ बढी मात्रामा आउने गरेको र पछि व्यवसायी र प्रशासनको सक्रियतामा उनीहरू लाखापाखा लागेको भएपनि पार्टीका नाममा चन्दा आतंक  व्यापक भएकाले दबाबमा आएर चन्दा नदिन व्यवसायीहरूलाई आग्रह गरे । उनले भने, ‘जबरजस्ती भए पहिले समितिलाई जानकारी दिनुहोला, हामी के गर्नुपर्छ गर्छाैं ।’

उनले कतिपय अवस्थामा व्यवसायी पनि सुध्रिनुपर्ने अवस्था देखिएको भन्दै व्यवसायीले ऐन विपरीत कामदार पठाउन नहुने सुझाव राखे । उनले थपे, ‘कामदारले दुःख पाउन् भन्ने नचाहँदा नचाहँदै पनि समस्या देखिने गरेको छ । भिसा प्रक्रिया सुरुवात, बीमालगायतका शीर्षकमा कम्पनीको लगानी भएको अवस्थामा कामदारको मन परिवर्तन भइ समस्या छ । करार अवधिमा पनि झिकाउने दबाब हुन्छ । करार अवधि सकिएपछि नयाँ काममा जोडिएको अवस्थामा समस्यामा परे व्यवसायीमाथि दबाब दिने गरेकाले समस्या छ, यसलाई बुझिदिन प्रहरी प्रशासनलाई आग्रह गर्दछु ।’

अध्यक्ष पाण्डेले व्यवसायीहरूले पनि ऐन विपरीत कामदार पठाउन नहुने सुझाव राखे । उनले सरकारले ऐजेन्ट खारेज गरेपनि केही व्यक्तिले कम्पनीको नक्कली कागजात बनाएर ठगी गर्ने जस्ता गैरजिम्मेवार कार्य गरेको देखिएको भन्दै समयमा नै त्यस्ता विषयमा समितिलाई जानकारी गराउन आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक पगेनीले प्रहरीले व्यवसायीलाई बिनाकारण अनावश्यक दुःख दिन नचाहने भन्दै फौजदारी संहिताअनुसारको ठगी, वैदेशिक रोजगार ठगी र मानव बेचविखन फरक–फरक भएकाले फरक–फरक अनुसन्धान हुने भएकाले त्रसित हुन जरुरी नरहेको बताए । 

उनले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएकाले व्यवसायी सोहीअनुसार  सम्मानित हुनुपर्ने, तर केही व्यवसायीले व्यक्तिगतरूपमा पनि वैदेशिक रोजगारीमा पठाउने, चर्काे रकम असुली गर्ने, एजेन्टले ठूलो अंकमा रकम उठाउने गर्दा समस्या देखिएको भन्दै ती विषयमा सचेत हुन व्यवसायीलाई सुझाव दिए । उनले व्यवसायीको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेकोे, तर व्यवसायीले पनि सिर्जना भएको झमेला पेन्डिङमा राख्न नहुने सुझाव दिए ।

प्रहरी नायव उपरीक्षक थापाले  म्यानपावर व्यवसायीविरुद्ध धरपकडमा नलाग्ने, तर म्यानपावर कम्पनीविरुद्ध उजुरी परेको अवस्थामा मेलमिलापका लागि छलफलसम्म गराउने गरेको बताए । उनले युरोपमा श्रम सक्कली, भिसा नक्कली हुने तथा ऐजेन्ट परिचालनले समस्या सिर्जना गरेको जस्ता समस्या देखिएको भन्दै समस्या आउँदैछ भनेर व्यवसायीले थाहा पाए आलटाल नगरी तत्कालै समस्याको समाधान गर्नुपर्ने सुझाव दिए । उनले समस्या भए लिपिबद्धरूपमा सम्बन्धित निकायमा जान व्यवसायीलाई आग्रह गरे ।

उनले भने, ‘कामदारको भविष्य व्यवसायीको हातमा छ, ओभरटाइम जस्ता विषयमा व्यवसायी इमानदार हुनुपर्ने छ । झमेला पेन्डिङ नराख्नुहोला । व्यवसायी भन्दा श्रमिक समस्यामा रहेकोे भन्ने सामाजिक बुझाइलाई व्यवसायीले बुझ्नुपर्छ ।’

संघका उपाध्यक्ष देवकुमार खोखालीले व्यवसायीले कामदार ठग्छन्, दुःख दिन्छन् भन्ने  दृष्टिकोण परिवर्तन गरेर व्यवसायीका समस्या  हेरिदिन प्रहरीलाई आग्रह गरे । खोखालीले प्रहरी वैदेशिक रोजगारीमा संलग्न हुने व्यवस्था नभएको भएपनि शान्ति सुरक्षा कायम राख्नुपर्ने जिम्मेवारीमा रहेकाले संवेदनशील हुनुपर्नेमा जोड दिए । 

हाल नेपाल सरकारले इजरायल र दक्षिण कोरिया दुई वटा देशमा कामदार पठाउने, ट्राभल्स एजेन्सी, होटल सञ्चालक र व्यक्तिले वैदेशिक रोजगारीमा कामदार पठाउने गरेको, तर समस्या आए सञ्चारमाध्यममा म्यानपावर खराब भनेर बदनाम हुने गरेको भन्दै विदेशमा धर्म, संस्कृति, भाषा तथा काम नजानेर वा घरपरिवारको याद आउने ‘होमसिक’ भएर आउन दबाब दिने र त्यसमा संघसंस्था र युट्युबर जोडिँदा समस्या भएकाले त्यसमा प्रशासनले ध्यान दिन जरुरी रहेकोे उनको भनाइ थियोे । उनले भने, ‘हामी काम गर्ने हौं । काम गर्नेलाई हतोत्साहित गर्नु भएन ।’

समिति उपाध्यक्ष तारानाथ अर्यालले समस्यामा परेको कामदार भन्दा कामदारका नाता, एनजिओ, युट्युबर र तेस्रोले समस्या सिर्जना गर्ने गरेको र अन्य पक्षले कमजोरी गर्दापनि आक्रमणको निशानमा व्यवसायी पर्ने गरेकोे भन्दै तेस्रो पक्षको अतिरञ्जना गर्ने प्रवृत्तिलाई सुरक्षा निकायले सुक्ष्मरूपमा हेरिदिन आग्रह गरे ।

उपाध्यक्ष हरिश कुँवरले वार्षिक १८ अर्ब रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगार व्यवसायलाई तुच्छ नभइ सम्मानित पेशाका रूपमा लिनुपर्ने बताए । ‘कतिपय अवस्थामा रोजगारदाता र कामदारको सम्बन्ध राम्रो नहुँदा पनि समस्या हुने गरेको छ । त्यसमा व्यवसायीमाथि अनावश्यक दबाब दिन हुँदैन,’ उनले भने ।

समितिका सल्लाहकार नरेन्द्रप्रसाद ढकालले कानुन हातमा लिएर सामाजिक अभियन्ताका नाममा त्रास फैलाउने गरिएको भन्दै त्यसलाई रोक्न माग गरे । व्यवसायीले वैधानिकरूपमा मात्रै कामदार पठाउने भएकाले समस्या आए त्यसमा समितिलाई  समन्वय गर्न आग्रह गरे । उनले अनावश्यक रूपमा ठाडो उजुरी नलिन पनि प्रहरीलाई आग्रह गरे ।

महासचिव मधुकर रिजालले सञ्चालन गरेको कार्यक्रममा समिति सल्लाहकार पदमराज पौडेलसहित सामाखुसी, बसुन्धरा र चक्रपथ क्षेत्रमा कार्यालय रहेका व्यवसायीहरूको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise