२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

सिमलताल बस दुर्घटनाः तीन जना पौडिएर बाँचे

ADV
मध्यान्ह
२०८१ असार २८ गते १४:०४
सिमलताल बस दुर्घटनाः तीन जना पौडिएर बाँचे

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनीहरू बिहीबार साँझ ७ः३० वजे काठमाडौंबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए । तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए । “बसमा हामी ३० देखि ३५ जना थियौं । त्यसमध्ये तीन जना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौं, पौडिएर बाँच्न सफल भयौं ।” 

खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उनले सुनाए । “हामी गाडीबाट कसरी बाहिर निस्कियौं भन्नेसमेत थाहा छैन, एकै पटक पानीमा झरेपछि मात्र सबै थाहा पायौं”, उनले थपे, “बस पानीमा धेरै मुनी पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौं ।” टाउकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उपचार गरेर फर्किँदै गरेका गरुडा–९ रौतहटका जुगेश्वर राय यादवले आफ्नो परिवारका चार जना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाए । बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार थिए । काठमाडौंमा उपचार गरेर घर फर्कँदै गर्दा उनको परिवारका पाँच जना दुर्घटनामा परेका हुन् ।  “काठमाडौंमा ६ दिनसम्म उपचार गरेर फर्किँदै थियौं । एक्कासी नसोचेको घटना घट्यो । पाँच पटक बस ठक्कर खाएर बल्ल नदीमा पुगेको थियो”,उनले स्मरण गरे, “पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालक र सहचालक पनि त्यही डुब्नुभयो ।” 

बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उनले सुनाए, “जाम खुलेसँगै विस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भएँ, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।” उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ताको डिस्चार्ज भएको छ । सामान्य अवस्थामा रहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो । हाल बेपत्ता बसको खोजिकार्य जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise