काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजारमा विदेशी श्रमिकको बाहुल्यता विस्तार हुँदै गएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले नेपालको श्रम र पुँजीबजार संकुचनमा रहेको बताए । पुँजीबजार गुञ्जायमान हुन नसकेको बताउँदै उद्योगमन्त्री भण्डारीले नेपालको श्रम बजार पनि अपेक्षा गरेको श्रम बजार बन्न नसकेको बताए ।
नेपालको श्रम बजारमा नेपालीले भन्दा अरुले नै आफ्नो बाहुल्यताको क्रमशः विस्तार गर्दै गइरहेको बताए । नेपालको श्रम बजारले खोजिरहेको कुरा शिक्षा प्रणालीले दिन नसकेको उनले बताए । श्रम बजारमा रहेका समस्या समाधान गर्न सरकार लागिरहेको बताउँदै उनले नेपाली श्रम बजार नेपालीहरु र नेपाली सीपको श्रम बजार बन्नुपर्ने बताए ।
मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पढ्दै कमाउँदै भन्ने नयाँ कार्यक्रम ल्याएको बताए ।