२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुरक्षित आप्रवासन सेवा ७५३ वटै पालिकामा पुर्‍याउँछौं : मन्त्री भण्डारी

shivam cement
२०८२ असार १७ गते १६:३७
Shares
सुरक्षित आप्रवासन सेवा ७५३ वटै पालिकामा पुर्‍याउँछौं : मन्त्री भण्डारी

ललितपुर : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन् ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा मंगलबार ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले अहिले पनि वैदेशिक रोजगार विभागमा ३६ हजार ठगीका मुद्दा रहेकाले ऐन संशोधन गरेर मुद्दा फछ्र्यौटलाई सहज बनाउने बताए ।

‘अहिलेकै कानुनअनुसार हुने हो भने सबै मुद्दा टुङ्गोमा पुग्न २५ वर्ष लाग्छ, त्यसकारण ऐन संशोधन गर्ने पक्षमा छौँ, वैदेशिक रोजगार न्यायाधिकरणको पक्षमा छौँ, जिल्ला जिल्लामा उजुरी लिएर जिल्ला अदालतमा मुद्दा चल्ने अवस्थाका लागि व्यवस्थापन गर्दैछौँ, जिल्ला प्रशासन कार्यालयमै उजुरी दिने व्यवस्था गर्नु आवश्यक छ,’ उनले भने ।
मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारीको विकल्प आन्तरिक रोजगारको विकास र प्रवद्र्धन रहेको उल्लेख गर्दै सुरक्षित वैदेशिक रोजगारसँगसँगै आन्तरिक रोजगारी प्रवद्र्धनका लागि पनि जोड दिइएको बताए ।

‘पहिला मन्त्रालयको ध्यान वैदेशिक रोजगारमा मात्रै थियो, अहिले आन्तरिक रोजगारलाई ध्यानमा दिएर सीप विकास प्रतिष्ठानमार्फत कार्यक्रमलाई अगाडि बढाएका छौँ, अब नेपालीलाई वैदेशिक रोजगारबाट फर्काएर मुलुकको आर्थिक विकास र समृद्धिको हितमा काम गर्न सामीमार्फत नै अभियान अगाडि बढाउन जोड दिन्छौँ, अबको अवस्थामा हामीले यही रोजगारी र अर्थतन्त्रको सृजना गर्नुपर्छ,’ उनले भने ।

सामी परियोजनाले कार्यक्रमको औचित्यता प्रमाणित गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले सुरक्षित आप्रवासनको सेवालाई ७५३ वटै पालिकामा पु¥याउन चाहेको पनि बताए ।

‘अहिले हामीले राष्ट्रिय आप्रवासन नीतिका लागि ध्यान दिएका छौँ, सरकारले मनोसामाजिक परामर्श गर्ने कुरालाई पनि जोड दिएको छ, वैदेशिक रोजगारका सन्दर्भमा दुई पक्षीय सम्झौताका आधारमा न्यूनतम तलब तोकेर श्रमिकका हितमा काम गरेका छौँ, आतेजाते खर्चमा रोजगारदाताले व्यवस्थापन गर्नुपर्ने गरी व्यवस्था गराउन जोड दिएका छौँ, यो विषयमा अहिले छलफल गरिरहेका छौँ, मेनपावर व्यवसायीले रोजगारीमा जानेसँग बढी पैसा लिएर कामको प्रमाण दिने काम पनि भएको छ, यसलाई पनि ध्यान दिएका छौँ, प्रत्येक नागरिकको हातमा श्रमसंसारको सेवा पुग्नुपर्छ, अहिलेको अवस्थामा प्रविधिको उपयोगलाई ध्यान दिएका छौँ, सबै खालका सेवा प्रवाह स्थानीय तहमा पु¥याउन खोजेका छौँ,’ मन्त्री भण्डारीले भने ।

वैदेशिक रोजगारका कारण मुलुक खाली भयो भन्ने भाष्य सृजना गरिएको जिकिर गर्दै उनले ५ वर्षमा ६० लाख नागरिक वैदेशिक रोजगारीमा गएपनि ५० लाख नागरिक स्वदेश फर्किएको तथ्यांक रहेको बताए ।

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सामी परियोजनालाई राम्रोसँग कार्यान्वयन गराउन सरकारले सधैँ सकारात्मक भूमिका निर्वाह गर्ने बताए । नेपालस्थित स्विस दूतावासका कर्मचारी एन्टोनिया फ्लफलेले सामी परियोजना महत्वपूर्ण सिकाइ भएको उल्लेख गर्दै यसमा धेरै व्यक्तिलाई सहभागी गराएर सुरक्षित आप्रवासनका क्षेत्रमा काम गर्दै उपलब्धि हासिल गरेको बताए ।

‘हेल्भेटास नेपाल’का सामी परियोजना हेर्ने प्रतिनिधि टंक अर्यालले यो सेवा नेपालका सबै तह र क्षेत्रमा आवश्यक रहेको भन्दै सात प्रदेशका सबै स्थानीय तहमा पुग्नेगरी श्रम र आप्रवासनसम्बन्धी समन्वय तथा सहकार्य गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर