२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

‘ठग, बिचौलिया र एजेन्टहरूलाई तह लगाउन मन्त्रालय कठोर’

shivam cement
२०८२ असार २० गते ०६:१५
‘ठग, बिचौलिया र एजेन्टहरूलाई तह लगाउन मन्त्रालय कठोर’

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका ठग, बिचौलिया र एजेन्टहरूलाई तह लगाउन मन्त्रालयले कठोर कदम चाल्ने बताएका छन् । 

बिहीबार ललितपुरमा पौरखी नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले अहिले वैदेशिक रोजगारको नाममा एक नेपालीले अर्काे नेपालीलाई ठग्ने गरेको घटनाहरू व्यापकरूपमा बढेको र त्यो चिन्ताको विषय भन्दै ठग, बिचौलिया र एजेन्टहरूलाई तह लगाउन कठोर बन्ने बताए ।

एकद्वार प्रणालीमार्फत श्रम क्षेत्रको सबै सेवा प्रदान गर्न मन्त्रालयले कडा मिहिनेत गरिरहेको पनि मन्त्री भण्डारीले बताए । उनले भने, ‘एकद्वार प्रणालीमार्फत श्रम क्षेत्रको सबै सेवा प्रदान भएपछि बिचौलिया ठाउँमा आउँछन् ।’

त्यस अवसरमा उनले विदेशी भूमिमा रहेका नेपाली श्रमिकहरूको स्वामित्व नेपाल सरकारले  लिनुपर्ने बताए । कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले भने, ‘जुनसुकै माध्यमबाट विदेशी भूमिमा काम गरिरहेका नेपालीहरूको राज्यले स्वामित्व लिनुपर्छ, सरकार जिम्मेवारीबाट पन्छिन पाउँदैन ।’

कतिपय ठगिएर, कतिपय अनौपचारिक माध्यमबाट गएर लुकेर लामो समयदेखि कागजातविहीन भएर बसेकाहरू र कतिपय नेपाली कामदारहरू विभिन्न माध्यमबाट कामका लागि विदेशी भूमिमा पुगेको भन्दै मन्त्री भण्डारीले भने, ‘कि त सरकारले उनीहरूलाई  नेपाली नै होइनन् भन्नुपर्‍यो, होइन भने स्वामित्व लिनुपर्छ ।’

मन्त्री भण्डारीले गाउँ रित्तो भयो, खाली भयो, गाँउमा बस्ने अवस्था भएन, पलायनको क्रम नरोकिएको जस्ता विषयमा गम्भीरतापूर्वक समीक्षा हुनुपर्ने समय आएको उल्लेख गर्दै गाउँबाट मान्छे मात्रै पलायन नभएर पुँजी पनि पलायन हुँदा रोजगारीको अभाव सिर्जना भएको बताए ।

उनले नेपालको श्रम तथा रोजगार क्षेत्रमा देखिएका समाधानका लागि सबै पक्ष इमान्दार भएर लाग्नुको विकल्प नहरेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न ढिलासुस्ती गर्न नहुने बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति नभइ र श्रम अनुमति दिनुपर्ने बताए । उनले भने, ‘श्रम स्वीकृति त गन्तव्य देशले जारी गर्ने हो, हामीले त काम गर्न जाने श्रमिकलाई श्रम अनुमति उपलब्ध गराउनुपर्छ ।’

मन्त्री भण्डारीले काम गर्न जाने कामदारसँगै कामका लागि लैजाने मुलुक तयार भएको अवस्थामा नेपाल सरकारले रोकेर नरोकिने भन्दै अवसर रहेकोे मुलुकमा रोजगारीमा पठाउनुपर्ने बताए ।

ADV

सम्बन्धित खबर

Advertise