क्वालालम्पुर : मलेसियाली भारतीय रेस्टुरेन्ट मालिक संघ (प्राइमास)ले सरकारले खाद्य तथा पेय पदार्थ उद्योगका लागि कामदारहरूको प्रवेश पुनः खोल्न माग गरेको छ । प्राइमसका अध्यक्ष गोविन्द सामीले विदेशी कामदारको अभावले सेवाको गुणस्तर, स्वच्छता र रेस्टुरेन्टहरूको सञ्चालन क्षमतामा असर परिरहेको बताएका छन् ।
गोविन्द सामीले बिहीबार एक विज्ञप्ति जारी गर्दै धेरै रेस्टुरेन्टहरू कामदारको अभावमा पूर्णरूपमा चलाउन नपाएको र चलाइएका रेष्टुरेन्टहरूले पनि मुख्य परिकारहरू कटौती गर्न बाध्य भएको बताएका छन् ।
मलेसियाले आगामी वर्ष ‘भिजिट मलेसिया २०२६’ घोषणा गरेको छ । उक्त समय नजिकै आउन लागेकाले पर्यटकहरूलाई मुख्य सेवा प्रदान गर्न तयार हुनुपर्ने र सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्ने भन्दै यथाशक्य छिटो विदेशी कामदार खुला नभएको अवस्थामा अन्तिम क्षणमा सेवा दिन नसकिने उनको भनाइ छ ।
प्राइमसले देशका लागि प्रमुख राजस्व कमाउने क्षेत्रको रूपमा रहेको रेष्टुरेन्ट क्षेत्रको भूमिकालाई मान्यता दिन पनि आग्रह गरेको छ ।