–शम्भू पनेरू
गाउँ सुनसान छ, घरको आँगनमा घाम झर्दैन,
हिजो खचाखच थिए पाटी–चौतारा, आज कोही पर्दैन ।
सुनिन्छ आवाज — ‘देश विकास भइरहेछ रे !’
तर गाउँमा भने, केवल मौनता बोलिरहेछ छ ।
हिउँजस्तै पग्लिए मान्छेहरू, सहरतिर बग्दैछन्,
कतार, कोरिया, दुबईको मायासँगै बग्दैछन् ।
उखु बारी बाँझो छ, गहुँको बीउ कुहिएको,
जनशक्ति बिनाको गाउँ, सपना जस्तै बिस्मृत भएको ।
‘समृद्ध नेपाल’को नारा–बाजा गाउँसम्म आएन,
ढल बन्छ सहरमा, तर गाउँमा बाटो सरेन ।
स्कूल छ, शिक्षक छैनन्, कसले पढ्ने किताब ?
अस्पताल छ, औषधि छैन, कसले हेर्ने ल्याब ?
फेदीको पाखामा अन्न हुर्कन्छ, तर मोल छैन,
जनताको पसिनामा राष्ट्र बन्छ, तर तोकिएको रोल छैन ।
गाउँको माटोमा सिङ्गो देशको बल छ लुकेको,
त्यही माटो भुलेर, देश कहिलेसम्म टल्नेछ रुकेको ?
संसदमा गुञ्जिन्छ विकासको राग,
तर गाउँमा छैन न बिजुली न भाग ।
नीति बनाउनेहरू सहरमै थुनिए,
गाउँको पीडा उनीहरूको कानमा पुगेकै छैन कि ?
देश बन्छ भने गाउँसँगै बन्छ,
हिम्मत, श्रम र सपना गाउँमै हुन्छ ।
गाउँलाई भुलेर, सहरको आकाश टोकेर,
के उड्न सक्छ देश ? के फुल्छ समृद्धिको बगैँचा मरेर ?
गाउँलाई हेर्ने दृष्टि फेर, गाउँलाई देऊ सम्मान,
नारा होइन, व्यवहार देऊ — यही हो सच्चा योजनाको प्रमाण ।
जब गाउँमा खुसी फर्किन्छ, तब देश हाँस्नेछ,
गाउँको विकास बिना, समृद्धि केवल सपना बाँस्नेछ ।