२०८२ कार्तिक ४ गते मङ्गलवार / Oct 21 , 2025 , Tuesday
२०८२ कार्तिक ४ गते मङ्गलवार
Ads

फिलिङ्गो

shivam cement
केशव सिग्देल
२०८२ कार्तिक ४ गते १७:०५
फिलिङ्गो

अगुल्टोले आगोको भुङ्ग्रोलाई ठोसेर
चैनसँग सुत्छु भनेर
कसरी सोच्यौ तिमीले महाशय ?

तिमी जाइ लागिरह्यौ
निश्छल कोशोर र निहत्था युवाहरु माथि । 
तर जब युवाहरुको आक्रोशले 
शहरलाई हल्लाउँदै लग्यो
मानिसहरु ब्युँझाउँदै र जोड्दै गयो
त्यसपछि आगोको फिलिङ्गो झैं
ह्वारह्वार्ती बल्यो शहर
त्यससँगै जले तिम्रा उन्मादहरु
र खरानी भए शासनका अवयवहरु ।

काठमाण्डौका सडकहरुहरुमा उभिएर 
शासकका सन्की हर्कतका अवशेषहरुलाई
अक्षरका कोर्रा हानिरहेछौं हामी
ताकी भविष्यमा
शासनमा बसेर कोही 
फेरी बहुलाउन नखोजोस्
इतिहासको प्रेत ब्युँझाएर
मनिसको स्वतन्त्र चेतनामाथि
धावा बोल्न नखोजोस् ।

तिम्रो दुर्भाग्य
तिमी बहुलायौ
र अति प्रज्वलनशिल क्षेत्रमा बसेर
आगोलाई चलायौ तिमीले ।

हामीलाई राम्ररी थाहा छ
तन्नेरीका सपनाहरुमाथि सुतेर
तिमी शासनको रजाईं गर्छौ
तर तिमीलाई 
सपनाको उकुसमुकुसभित्र पनि आगो हुन्छ भन्ने 
थाहा नहुन सक्छ
मन भाँचियो भने
त्यहीँबाट निस्कन्छ आगो
र खरानी पार्छ 
त्यसमाथि शयन गर्नेहरुलाई । 

तिमी किन देखाउँछौ यस्तो कायरता
निहत्था युवाहरुमाथि जाइ लागेर
तिमी कुन बहादुरी प्रदर्शन गरिरहेछौ?
साँच्चिकै तागत छ र सक्छौ भने
रोक अक्षर र आवाजको बुइ चढेर हिँडिरहेका विचारहरु
जो आगोको फिलिङ्गो झैं
सल्किँदै छन् ह्वारह्वार्ती
डढाउनलाई तिम्रा उन्मादहरु । 

ADV

सम्बन्धित खबर

Advertise