
अगुल्टोले आगोको भुङ्ग्रोलाई ठोसेर
चैनसँग सुत्छु भनेर
कसरी सोच्यौ तिमीले महाशय ?
तिमी जाइ लागिरह्यौ
निश्छल कोशोर र निहत्था युवाहरु माथि ।
तर जब युवाहरुको आक्रोशले
शहरलाई हल्लाउँदै लग्यो
मानिसहरु ब्युँझाउँदै र जोड्दै गयो
त्यसपछि आगोको फिलिङ्गो झैं
ह्वारह्वार्ती बल्यो शहर
त्यससँगै जले तिम्रा उन्मादहरु
र खरानी भए शासनका अवयवहरु ।
काठमाण्डौका सडकहरुहरुमा उभिएर
शासकका सन्की हर्कतका अवशेषहरुलाई
अक्षरका कोर्रा हानिरहेछौं हामी
ताकी भविष्यमा
शासनमा बसेर कोही
फेरी बहुलाउन नखोजोस्
इतिहासको प्रेत ब्युँझाएर
मनिसको स्वतन्त्र चेतनामाथि
धावा बोल्न नखोजोस् ।
तिम्रो दुर्भाग्य
तिमी बहुलायौ
र अति प्रज्वलनशिल क्षेत्रमा बसेर
आगोलाई चलायौ तिमीले ।
हामीलाई राम्ररी थाहा छ
तन्नेरीका सपनाहरुमाथि सुतेर
तिमी शासनको रजाईं गर्छौ
तर तिमीलाई
सपनाको उकुसमुकुसभित्र पनि आगो हुन्छ भन्ने
थाहा नहुन सक्छ
मन भाँचियो भने
त्यहीँबाट निस्कन्छ आगो
र खरानी पार्छ
त्यसमाथि शयन गर्नेहरुलाई ।
तिमी किन देखाउँछौ यस्तो कायरता
निहत्था युवाहरुमाथि जाइ लागेर
तिमी कुन बहादुरी प्रदर्शन गरिरहेछौ?
साँच्चिकै तागत छ र सक्छौ भने
रोक अक्षर र आवाजको बुइ चढेर हिँडिरहेका विचारहरु
जो आगोको फिलिङ्गो झैं
सल्किँदै छन् ह्वारह्वार्ती
डढाउनलाई तिम्रा उन्मादहरु ।
तिहारमा कविता शृङ्खला
सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल
तिमी र म सँगै रोपौं - बबिता भट्टराई
जीवन र कविता - भानुभक्त आचार्य
सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा
नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी
तिमीलाई पर्खिरहेछु - जनक कार्की
तिमी पनि रसाएको देखें - झलकजी विकल्प
फर्किन मन छ - दीर्घराज उपाध्याय
एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा