२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

कथा : युरोप यात्राले अस्ताएका सपना

shivam cement
२०८२ असार २१ गते ०६:१०
कथा : युरोप यात्राले अस्ताएका सपना

–जनक बराल

स्याङ्जाको हरियो डाँडामै हुर्किएका थिए रोहन शर्मा । बाबु स्थानीय शिक्षक, आमा गृहिणी । मिहिनेतले हुर्किएको परिवारको एक मात्र छोरा भएकाले उनलाई घरको धेरै आशा थियो । बाल्यकालमै पढाइमा तेज, विद्यालयका हरेक प्रतियोगितामा अव्वल । गाउँका बुढापाकाले भन्थे, “यो केटो एकदिन ठूलो मान्छे बन्छ ।”

त्यही सपना बोकेर उनी पोखरा आएका थिए । पोखरा इन्जिनियरिङ कलेजमा प्रवेश पाएका थिए । सुरुवातमा सबै ठिकै थियो— पढाइ, साथीभाइ, कलेजको माहोल । तर, बिस्तारै जीवनका हिसाब–किताबहरू गाह्रो हुन थाले । बाबुको तलबले घर चल्थ्यो, तर सहरको भाडा, किताब, मोबाइल र कलेज खर्चहरू तिर्न हम्मे पथ्र्याे । अनि उनले सुरु गरे पार्टटाइम काम— ट्युसन पढाउने । बर्थडे पार्टीमा फोटोग्राफी, कहिले काँही रेस्टुरेन्टमा प्लेट बोक्ने ।

तर, यत्ति मात्रले पुग्दैनथ्यो । चौथो वर्षको सुरुमा उनी एकदिन आफ्नो रुमको छतमा चुपचाप बसे । साथी विशालले भनेको कुरा सम्झिए, “यार, पोर्चुगल जाऔं न ! मास्टर पनि सकिन्छ, कमाई पनि । युरोपै छेउमै हो ।”

पहिला हाँसेका थिए उनी, “इन्जिनियर भएर विदेशमा भाँडा माझ्न त म जान्न !” तर, जब करेसाबारी सपना काठको बाकसझैं बिस्तारै संकुचित हुँदै गयो, अनि लाग्यो, “के नेपालमै बाँकी छ र मेरो लागि ?”

६ महिनापछि उनी पोर्चुगल उडे । विद्यार्थी भिसामा मास्टर गर्न भनेर गएका थिए, तर पहिलो महिनादेखि नै उनले बुझे, कागजको नाममा विश्वविद्यालय छ, तर जीवनको कक्षा भने अर्कै हो ।

दिउँसो पढ्ने बहानामा बस्ने, राति होटलमा भाँडा माझ्ने, आइतबार सुपरमार्केटमा सामान मिलाउने । कहिलेकाहीँ त तीन–तीन सिफ्ट लगाउँथे, सुत्ने फुर्सद नै हुन्थेन । तर, बैंक खातामा युरो जम्मा हुँदै थियो । स्याङ्जाको घरबाट फोन आउँथ्यो, “बुबाको अप्रेसन छ रे छोरा, खर्च लाग्छ,” “बहिनीको बिहे टुङ्ग्याउनै प¥यो ।” रोहनको एकोहोरो उत्तर हुन्थ्यो, “हुन्छ, भोलि नै पठाइदिन्छु ।”

दुई वर्षको मास्टर कहिले सकियो, उनलाई थाहा नै भएन । डिग्री त हात लाग्यो, तर सपनाको आकार बदलिसकेको थियो । अब उनी इन्जिनियर होइन, ‘वर्क परमिट’ खोज्ने आप्रवासी थिए । पोर्चुगलबाट स्पेन, बेल्जियम, कहिलेकाहीँ फ्रान्ससम्म पनि पुगे— कामको खोजीमा ।

एकदिन बेल्जियमको ब्रुसेल्समा सडकमा डेलिभरी गर्दै गर्दा उनले आफूलाई ऐनामा हेरे— थकित अनुहार, झुस्सिएको दाह्री अनि झरीमा भिजेको स्कूटर । बाल्यकालको अनुहार झल्झल्ती देखियो— स्याङ्जाको वालिङमा बाँसको चिसो कोठामा किताब पढ्दै गरेको केटो ।

त्यही रात उनले फोन गरे घरमा । आमाले सोधिन्, “कस्तो छ बाबु त्यहाँ ?” रोहन केहीबेर चुप लागे । अनि भने, “युरोपले धेरै कुरा दिएको छ आमा, तर मलाई मबाट टाढा बनाएको छ ।”

त्यसपछिका दिनहरू अझै कठिन भए । काम, पेपर, पुलिस, भाषा—सबैथोकसँग संघर्ष । तर, त्यसबीचमा उनले बुझे, अब नेपाल फर्कन गाह्रो थियो । एउटै कारण— जुन सपना लिएर आएको थिएँ, त्यो सपना अब पैसा हो, सुविधा हो, अनि सुरक्षा ।

एक दिन फेसबुकमा साथीले ट्याग गरेको फोटो आयो— पोखराको सेती नदी किनार, पछि माछापुच्छ्रे । उनले मोबाइल छोडे, छतमा गए । ब्रुसेल्सको आकाशमा उडिरहेका बादलहरू हेर्दै बडबडाए, “कहिले आउँछु फेरि त्यो डाँडाकाँडा ? त्यो पहाड ? त्यो गाउँ ?”

त्यस रात उनले एउटा डायरीमा लेखे, “नेपाललाई म छुने सपना थियो, अहिले युरोपले मलाई छोइदिएको छ ।”

त्यही डायरीमा उनले अर्को पन्नामा लेखे, “यस्तो यात्राले मानिसलाई पैसा त दिन्छ, तर सपनाहरू अस्थायी बनाउँछ । मेरो सपनाको जरा नेपालमै थियो, अब त त्यो जराको माटो हराएको जस्तो लाग्छ ।”

त्यो रातको बादलजस्तै, रोहनको सपना पनि युरोपको आकाशमा बगिरह्यो— अस्थिर, तर अझै पनि जिउँदो ।

ADV

सम्बन्धित खबर

Advertise