२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कारागार भवन जीर्ण, पानी चुहिँदा कैदीबन्दीलाई समस्या

ADV
मध्यान्ह
२०८१ असार २९ गते ११:१७
कारागार भवन जीर्ण, पानी चुहिँदा कैदीबन्दीलाई समस्या

पर्वत ।  झण्डै चार दशक अघि बनेको पर्वत कारागार भवन मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ । टिनको छाना भएको भवनमा पानी चुहिन थालेपछि कैदीबन्दीलाई समस्या भएको छ । 

लामो समयसम्म टिनको छाना परिवर्तन गर्न नसक्दा खिया लागेर पानी चुहिन थालेको हो । हिउँदमा धेरै समस्या नभए पनि निरन्तर जसो पानी पर्ने वर्षायाममा कैदीबन्दीलाई रात काट्न समस्या परेको छ । छानाबाट पानी चुहिएर ओछ्यान भिज्ने र खाना पकाउन समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् । 

पानी चुहिएर कैदीबन्दी समस्यामा परेको गुनासो आएपछि कारागार कार्यालयले चार त्रिपालले छानो ढाकेको छ । मर्मत गर्न बजेट नभएका कारण त्रिपालले ढाकेको कारागार कार्यालयका सूचना अधिकारी निर्मल पौडेलले जानकारी दिए। कारागार भवन पुनः निर्माण गर्नुपर्ने उनले बताए । 

कारागारमा पुरुष ब्लकतर्फ बढी समस्या रहेको छ । पुरुष बस्ने भवन मर्मतसम्भार हुन सकेको छैन । क्षमताभन्दा चार गुणा बढी रहेको साँघुरो भवनमा वर्षायाममा पानी चुहिने समस्याले दैनिक जीवनयापनमा समस्या भएको सूचना अधिकारी पौडेलले बताए। 

कारागार भवन पुनः निर्माण गर्न माग गर्दै आएपनि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागलगायतले चासो नदिएको कार्यालयले जनाएको छ । अहिले पर्वत जिल्ला कारागारमा क्षमताभन्दा झण्डै चार गुणा बढी कैदीबन्दी रहेका छन् । पच्चीस कैदी बन्दीको क्षमता रहेको कारागारमा अहिले ९३ जना रहेका छन् । कैदी बन्दीमा तीन महिला र एक नाबालक छन् । 

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि तिनको व्यवस्थापन गर्न समस्या भएको कारागार कार्यालयका जेलर शिला श्रेष्ठले बताए । क्षमताभन्दा बढी कैदीबन्दी राख्दा उनीहरूलाई सुत्न समस्या भएको छ । त्यहाँ शौचालयको समेत समस्या छ ।

ADVADV

सम्बन्धित खबर

Advertise