काठमाडौं : केही दिनयता परेको लगातारको वर्षाले धान रोपाइँ गत वर्षको तुलनामा बढेको छ । १० दिनअघि देशभर जम्मा १५ प्रतिशत मात्र रोपाइँ भएकोमा असार २३ गतेसम्म यो दर ४५ प्रतिशत पुगेको छ ।
असार महिनालाई ‘मानो रोपेर मुरी फलाउने महिना’ भनिन्छ । त्यसैले यसको अन्तिम सातासमेत किसानहरू धान रोपाइँमै व्यस्त हुन्छन् ।
हालसम्म देशभर अझै ५५ प्रतिशत रोपाइँ बाँकी छ । तर, युवापुस्ता विदेश पलायन भइरहेका र रोपाइँका लागि श्रमिक अभाव भएकाले रोपाइँ ढिलो हुने गरेको छ ।
कृषि विभागका अनुसार असार १३ गतेसम्म १५.६ प्रतिशत रोपाइँ भएको थियो भने असार २३ गतेसम्म यो दर ४५.३ प्रतिशत पुगेको छ । गत वर्षको यही अवधिमा ४३.५ प्रतिशत रोपाइँ भएको थियो ।
पछिल्ला केही दिनको निरन्तर वर्षाले गर्दा रोपाइँ गत वर्षभन्दा बढेको कृषि विभागका उपमहानिर्देशक जगन्नाथ तिवारीले जानकारी दिए ।
सोमबारसम्म सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ ।
त्यहाँ १ लाख ७६ हजार १ सय ५१ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १ लाख ४५ हजार ९ सय ३२ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ, । सुदूरपश्चिममा रोपाइँ दर ८२ प्रतिशत छ ।
धान खेतीका लागि उर्वर मानिने मधेश प्रदेशमा भने सबैभन्दा कम रोपाइँ भएको छ । असार १० अघि ४ प्रतिशत मात्र रोपाइँ भएको मधेशमा असार २३ गतेसम्म २५.८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । त्यहाँ कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ९३ हजार ४ सय ६८ हेक्टरमा मात्रै रोपाइँ भएको छ । गत वर्ष यसै मितिसम्म २५.५ प्रतिशत रोपाइँ भएको थियो ।
यस्तै, लुम्बिनीमा ५२.११, कर्णालीमा ७१.६६, कोशीमा २९.५४, बागमतीमा ५१.९ र गण्डकीमा ५५.५९ प्रतिशत रोपाइँ भएको छ ।
अहिलेसम्म देशभर ६ लाख २३ हजार १ सय ४ हेक्टर जमिनमा धान रोपिएको छ ।
देशका सातवटै प्रदेशमध्ये सबैभन्दा धेरै रोपाइँ हुने अपेक्षा मधेश प्रदेशमा गरिएको छ । त्यहाँ ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर जग्गामा रोपाइँ हुन्छ ।
त्यसपछि क्रमशः लुम्बिनी प्रदेशमा ३ लाख २ हजार ९ सय ३९ हेक्टर। कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टर, सुदूरपश्चिम प्रदेशमा १ लाख ७६ हजार १ सय ५१ हेक्टर। बागमती प्रदेशमा १ लाख २० हजार ५ सय ४५ हेक्टर, गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टर, कर्णाली प्रदेशः ४० हजार ८ सय ८४ हेक्टर छ ।
कृषि विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल १३ लाख ८३ हजार ७ सय ३२ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरिएको छ । तर, गत वर्ष २०८०/८१ मा १४ लाख २० हजार हेक्टरभन्दा बढी क्षेत्रमा रोपाइँ भएको थियो ।