२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

'जनसंख्या वृद्धि नगरे एक शताब्दीमा देशको अस्तित्व नरहन सक्छ'

ADV
मध्यान्ह
२०८१ असार २९ गते १६:२६
'जनसंख्या वृद्धि नगरे एक शताब्दीमा देशको अस्तित्व नरहन सक्छ'

काठमाडौं : दर्शन चिन्तक प्राडा गोपिलाल न्यौपानेले जनसंख्या वृद्धि गर्ने दिशातिर नगए अबको एक शताब्दीपछि नेपालको अस्तित्व नरहने खतरा रहेको बताएका छन् । शनिबार संवाद डबलीमा आयोजित कार्यक्रममा उनले अहिले पनि पञ्चायतकालीन जनसंख्या नीतिले निरन्तरता पाउनुले देशको भविष्य भयावह उन्मुख रहेको दाबी गरेका हुन् । 

उनले देश राजनीति अस्थिरताको भुमरीमा फस्नु, राजनीतिक दलहरू सत्ता दाउपेचमा रुमलिनुको परिणाम सदियौँदेखि गरिबी र पछौटेपनामा गुज्रनुपरेको आरोप पनि लगाए । उनले भने, ‘कुनै कुराको अध्ययन–अनुसन्धान नगरी सबै सधैँ हावाको भरमा हरेक कुरा चलाउनुको परिणाम हामी ‘सुनको थालमा भिख मागिरहेका छौँ ।’

काठमाडौं जस्तो राजधानी सहरमा पनि विश्वमा सबैभन्दा कम जनघनत्व (३९५ प्रति वर्ग किलोमिटर) हुनु दुर्भाग्य भएको उनको भनाइ छ । उनले भने, ‘कहिले सडकपेटी सफा गर्ने बहाना, कहिले सुकुम्बासी त कहिले पार्किङको कारण देखाउँदै मान्छे लखेटिएको छ अनि कसरी बन्छ देश । भक्तपुरमा ३,६३१, सिंगापुर ८,४३०, ढाकामा १० हजार प्रतिवर्ग किलोमिटर जनघनत्व हुँदा काठमाडौँको तीन सय ९५ मात्रै छ, अनि कसरी जनसंख्या ज्यादा भयो ?’ 

जनसंख्याविद् नवराज थापाले देशको जनसंख्या घटी र बढीसँग भन्दा पनि त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मुख्य सरोकारको विषय भएको बताए । 

नेपालमा वर्तमान जनसंख्याको तथ्याङ्क अनुसार जन्मदर र मृत्युदर घट्न गएको र निर्भर भन्दा काम गर्ने उमेरका जनसंख्याको हिस्सा बढी भए पनि देशको राजनीतिक अस्थिरताको कारण त्यसको समुचित उपयोग नहुनु दुर्भाग्य भएको थापाले बताए ।

उनले अघिल्लो जनगणनाको तुलनामा पछिल्ला दशकमा जनसंख्या वृद्धिदर घट्दै गएको र वृद्ध–बृद्धाहरुको संख्यामा वृद्धि हुने र उत्पादनशील जनशक्ति विदेश पलायन हुनुले देशको भविष्य संकटउन्मुख रहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, ‘विश्वमा हाल आठ अर्बभन्दा बढी जनसंख्याको बसोबास भइरहँदा, विकसित देशहरूमा १६ प्रतिशत र कम विकसित देशहरूमा ८४ प्रतिशत छ । त्यसै गरी एसियामा विश्व जनसंख्याको करिब ५९ प्रतिशत जनसंख्या छ । ती मध्ये भारत र चीनमा सर्वाधिक जनसंख्याको बसोबास छ । नेपालमा २ करोड ९२ लाख रहँदा भारत र चीनसँग नेपालको डेढ अर्बको अन्तर हुँदा नेपालले सन्तुलित जनसंख्या नीति अबलम्बन गर्नुपर्ने अवस्था आएको छ ।’

नेपालले बेलैमा जनसंख्यालाई समान वितरण र ठूला मुलुकहरूसँग त्यसको सन्तुलन कायम नगरे नेपाली नस्लको भविष्यमा खडेरी पर्नुका साथै विदेशीको हातमा देश जानेप्रति सोच्नुपर्नेमा थापाको जोड छ ।

ADVADV

सम्बन्धित खबर

Advertise