२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सिमलताल दुर्घटनापछि शोकमा डुब्यो मटिअर्वा र सिसवा गाउँ

ADV
कृष्ण तिवारी
२०८१ असार २९ गते २१:१४
सिमलताल दुर्घटनापछि शोकमा डुब्यो मटिअर्वा र सिसवा गाउँ

रौतहट : नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा यात्रुसँगै दुई वटा बस हराएपछि रौतहटको मटिअर्वा र सिसवा गाउँ  शोकमा डुबेको छ । रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ३ मटिअर्वाका एकै परिवारका चार जना बेपत्ता भएका छन् ।

मटिअर्वाका ५८ वर्षीय परशुराम साह श्रीमती मीना देवी, माइलो छोरा सरोज, छोरी रिंकु र ज्वाई नरेश साहलाई लिएर २६ असारमा काठमाडौं गएका थिए ।

कान्छो छोरा कृष्णनन्दन साह नेपाली सेनाको ९ महिने तालिम पश्चात पासआउट समारोहमा सहभागी हुन परशुराम परिवारजनका साथ काठमाडौं गएका थिए । गाउँबाट नै काठमाडौं जाने गणपति डिलक्स बसमा गएका साह २७ गते सोही बसबाट फर्किंदै थिए । ‘कान्छो भाइको तालिम सकिएपछिको पासआउट कार्यक्रममा सहभागी भएर बुबाआमा, माइलो भाइ सरोज, दिदी रिंकु र भिनाजु नरेश साह काठमाडौंबाट फर्किदै हुनुहुन्थ्यो’, परशुरामका जेठा छोरा सुकनकुमार साहले भने, ‘बस चढेपछि बुबाले हामी बिहान घर आइपुग्छौं भनेर फोन गर्नुभएको थियो । तर बिहान सबेरै बस दुर्घटनामा परेको खबर आयो ।’ 

परिवारका ५ जनामध्ये सरोज साह भने दुर्घटनामा जोगिएका छन् । दुर्घटनाबाट जोगिने ३ जनामध्ये एक हुन् सरोज । ‘हिजो काकाकी छोरीको बिहे थियो । बुबाले भतिजीको बिहेमा हामी सबै जना आइपुग्छौं भन्नुभएको थियो’ फोनमा भएको कुरा सम्झिँदै सुकन भन्छन् ‘हाम्रो परिवारमाथि बज्रपात भयो । बुबा, आमा, दिदी, भिनाजुको कुनै अत्तोपत्तो छैन अहिलेसम्म ।’ 

एकै घरका चार जना बेपत्ता भएपछि आफन्तजन शोकमा छन् । खबर थाहा पाएर शनिबार आफ्नो घर भारतबाट माइत आएकी परशुरामकी अर्की छोरी सञ्जिता शोकाकुल छिन् । उनलाई सम्हाल्न जाने गाउँका महिलाहरुले पनि सान्त्वना दिन सकेका छैनन् । 

गरुडाको सिसवामा पनि शोक

बस दुर्घटनामा जोगिने अर्का एक व्यक्ति हुन् गरुडा नगरपालिका–९ सिसवाका ५० वर्षका जुगेश्वर राय यादव । २७ वर्षकी छोरी अमृता यादव, ७ वर्षका छोरा अशोक यादव र ३ वर्षका नाति शिवशंकर यादव र डेढ वर्षको नातिनीलाई लिएर उनी २० असारमा काठमाडौं गएका थिए । जुगेश्वरको ७ वर्षका छोरा अशोकलाई पेट दुख्ने समस्या थियो । गरुडा र चन्द्रपनिगाहपुरमा उपचार गराउँदा अशोकको पेट दुख्ने समस्या समाधान नभएपछि उनले छोरालाई काठमाडौंमा उपचार गराउन लगेका थिए । बुबा काठमाडौं जाने भएपछि छोरी अमृता पनि आफ्नो ढाड दुख्ने समस्या जाँच गराउन सँगै काठमाडौं गएकी थिइन् । उपचारका लागि गएका उनीहरु सवार बस पहिरोले त्रिशुलीमा बगाउँदा बेपत्ता छन् । बस दुर्घटनाको खबर सुनेपछि जुगेश्वरकी श्रीमती उमादेवी यादव मुर्छा परेकी छन् । 

‘दुर्घटनामा बुबा जोगिनुभएको छ, तर दिदी, भाइ र भाञ्जाभाञ्जी कहाँ छन् भन्ने अझै थाहा छैन’, जुगेश्वरका छोरा सन्तोष भन्छन्, ‘हाम्रो परिवारनै उजाडिएको छ । मनलाई कसरी बुझाउने, सम्झाउने थाहा छैन ।’

शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा यात्रु त्रिशुलीमा खसेर बेपत्ता भएका छन् । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट आउँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ ।

बेपत्तामध्ये शनिबार बिहान भरतपुर महानगरपालिका– २८ गोलाघाटमा नारायणी नदीमा भेटिएको शव काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साहको भएको पुष्टि भएको छ ।

शनिबार दिउँसो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका– ७ स्थित नारायणी किनारमा २ जनाको शव भेटिएको छ । उनीहरु सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । ती शवहरु भरतपुर आएका बेपत्ताका आफन्तलाई देखाएर पहिचान गरिने प्रहरीले जनाएको छ ।

बस खसेको ठाउँमा नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका तालिम प्राप्त सुरक्षाकर्मीहरुले खोजी गरिरहेका छन् । सेना तथा सशस्त्र प्रहरीका गोताखोरहरु पटक–पटक नदीमा पस्ने, भित्र गएर हेर्ने प्रयास गरेपनि बस फेला पर्न सकेको छैन । 

ADVADV

सम्बन्धित खबर

Advertise