२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

साफ यु–२० महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको सहज जित

shivam cement
मध्यान्ह
२०८२ असार २७ गते २०:५०
साफ यु–२० महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको सहज जित

काठमाडौं : पूर्णीमा राईको उत्कृष्ट प्रदर्शनसहित नेपालले बंगलादेशमा सुरु भएको साफ यु–२० महिला च्याम्पियनसिपमा शानदार सुरुवात गरेको छ । शुक्रबार ढाकास्थित बसुन्धरा किङ्स एरेनामा भएको खेलमा साबिक उपविजेता नेपालले भुटानलाई ६–१ ले पराजित गर्दै तीन अंक जोडेको हो ।

नेपालको जितमा पूर्णीमा राईले ह्याट्रिकसहित चार गोल गरिन् भने सेनु परियारले दुई गोल थपिन् । भुटानका लागि केल्देन वाङ्मोले एक मात्र सान्त्वना गोल फर्काइन् ।

खेलको नवौं मिनेटमै सेनुले वर्षा ओलीको पासमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि १८औं मिनेटमा पूर्णीमाले वर्षाकै क्रसमाथि वान टचमा गोल गर्दै अग्रता दोब्बर बनाइन् । पहिलो हाफको अन्त्यतिर सेनुले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै नेपाललाई ३–० को मजबुत अग्रता दिलाइन् ।

दोस्रो हाफमा भने भुटानले केही प्रतिरोध देखाउने संकेत गर्‍यो । ५४औं मिनेटमा केल्देन वाङ्मोले गोल गर्दै स्कोर ३–१ बनाइन् । तर त्यसपछि पूर्णीमाले थप तीन गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् ।

पूर्णीमाले ६३औं, ८४औं र ८८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा मात्र गरिनन्, चार गोलको व्यक्तिगत प्रदर्शनसमेत गरिन् । सुक्रिया मिया र वर्षा ओलीले पनि गोल गर्ने अवसर पाए पनि उपयोग गर्न सकिनन् ।

नेपालसँगै बंगलादेशले पनि विजयी सुरुवात गरेको छ । उद्घाटन दिनकै पहिलो खेलमा घरेलु टोलीले श्रीलंकामाथि ९–० को फराकिलो जित दर्ता गरेको थियो । यद्यपि दुवै टोलीको ३–३ अंक भए पनि गोल अन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा रहेको छ ।

चार टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा खेलाइँदैछ । उपाधिका लागि सबैभन्दा धेरै अंक बटुल्ने टोली विजेता घोषित हुनेछ । नेपालले अब आइतबार दोस्रो खेलमा आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

ADV

सम्बन्धित खबर

Advertise