२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

'सगुनमा लगानी' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

ADV
तिलु शर्मा पौडेल
२०८१ असार ३० गते ११:३४
'सगुनमा लगानी' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोहा, कतार : अमेरिकामा बस्ने केही नेपाली व्यवसायीहरूले सञ्चालनमा ल्याएको सामाजिक एप सगुनले कतारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार साँझ दोहाको एक होटलमा सम्पन्न कार्यक्रममा सगुनले स्थापनादेखि हालसम्म गरेका प्रगति र लगानीका सम्भावनाका बारेमा अन्तरक्रिया गरिएको थियो ।

कतारमा स्थापित व्यवसायी, सामाजिक व्यक्तित्वहरूको समुपस्थितमा सम्पन्न कार्यक्रममा सगुनका बारेमा फाउन्डर गोविन्द गिरीले वृत्तचित्रसहित विस्तारमा व्याख्या गरेका थिए । अन्तरक्रियामा सहभागीहरूले आफ्ना मनका आशंका तथा सगुन एपका बारेमा जिज्ञासा राखेका थिए । जिज्ञासुहरूले कम्पनीलाई पब्लिक कम्पनीमा लैजान र आईपीओ जारी गर्ने प्रक्रियामा जानसमेत सुझाव दिए ।

गिरीले उठेका प्रश्नहरूको जवाफ दिँदै सगुनबाट तत्काल मुनाफा लिन नसकिने बताए । उनले सगुनबाट अहिले गिफ्ट लिन-दिन सकिने गरी व्यवस्था मिलाइएको बताए । थप स्पष्ट पार्दै गिरीले विभिन्न उत्सवका गिफ्ट सगुनमार्फत पठाउन सकिने बताउँदै लाइभमा दिइएको गिफ्ट केही दिनभित्र घरमै पुर्‍याइने व्यवस्थासमेत गरिएको जानकारी दिए । गिफ्टको सुविधा हाल नेपाल र भारतमा मात्र रहेको र यसलाई विस्तारै संसारभर पुर्‍याउने लक्ष्य रहेको बताए ।

कार्यक्रममा सगुनका बोर्ड सदस्य कर्ण गुरुङ, सल्लाहकार समूह प्रमुख झकेन्द्र शर्मालगायतले आ-आफ्ना अनुभव र सगुनको आवश्यकतामाथि विचार राखेका थिए । निराशामा पुगेको सगुनप्रति सकारात्मक सन्देश दिन र नेपाली एपलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजान कतारमा बजार खोज्ने अन्तरक्रियाको उद्देश्य रहेको थियो । कार्यक्रमलाई सगुनका सल्लाहकार कृष्ण पन्थीले सहजीकरण गरेका थिए भने उपस्थितलाई सल्लाहकार भवानी प्रसाद कोइरालाले स्वागत गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise