नेपाल प्रहरी नागरिक सुरक्षामा खटिने सबैभन्दा नजिकको सुरक्षा दस्ता हो । जसमाथि राज्यको ठुलो लगानी छ । तर त्यही सुरक्षा दस्ता कति उत्साही छ भन्ने पछिल्लो एक वर्षमा प्रहरी कर्मचारीले दिएको राजीनामाको तथ्यांकले प्रस्ट पार्छ । नेपाल प्रहरीले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार एक वर्षमा २ हजार ३ सय ६९ जना प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा अधिकांश हबलदार र जवान छन् । यसको कारण के होला ! खोज्दै जाँदा प्रहरीको अनुहारमा आमनेपालीको चित्र भेटिन्छ ।
प्रहरी सेवामा प्रवेश गर्दा अधिकांश कर्मचारीमा उत्साह हुन्छ । जब सेवामा प्रवेश गर्छ तब सोचेजस्तो हुँदैन । यसको प्रमुख कारण हो– आर्थिक अवस्था । राजीनामा दिनेमध्ये अधिकांश तल्लो दर्जाका कर्मचारी हुनुले पनि आर्थिक कारणलाई बलियो प्रमाणको रूपमा लिन सकिन्छ । त्यसैले प्रायः प्रहरी अधिकारीहरू राजीनामा दिएर वैदेशिक रोजगारीमा जाने गरेका छन् । केही प्रहरी कर्मचारी भने नेपालमै अन्य पेसा÷व्यवसायमा पनि छन् । राजीनामा दिएकामध्ये ठुलो संख्या बिदेसिएको तथ्यांकले ‘सरकारी सेवाप्रतिको घट्दो आकर्षण र आर्थिक अवस्था’लाई उजागर गर्दछु ।
प्रहरी अधिकारीका अनुसार राजीनामा दिनुको प्रमुख कारण पर्याप्त सेवासुविधा नै हो । प्रहरी सेवाभन्दा अन्यन्त्र वा वैदेशिक रोजगारीमा सेवासुविधाको राम्रो अवसर पाउनु पनि राजीनामाको अर्को कारण हो । प्रहरी संगठनमा हुने सरुवा र बढुवामा राजनीति हावी हुने र लामो समयसम्म बढुवा रोकिनुलगायत समस्याले समेत प्रहरी सेवाप्रति उत्साह कम देखिन्छ । सरकारले जिम्मा लिएको सुरक्षा संयन्त्रभित्रको अवस्था त यस्तो छ भने अन्य सरकारी सेवामा रहनेको अवस्था कस्तो होला !
प्रहरी संगठनभित्रको अवस्था र प्रहरी कर्मचारीको राजीनामा एउटा उदाहरण मात्रै हो । जो ओभरटाइम काम गर्न बाध्य छ, तथापि सहज जीवन चलाउन सकिरहेको हुँदैन । अधिकांश क्षेत्रमा राजनीतिक आस्था र दाउपेचमा अवसरको बाँडफाँट गर्ने प्रवृति व्याप्त हुँदा मुलुकको अर्थतन्त्र पनि कमजोर बनाएको छ । मुलुकले आर्थिक उन्नति गर्न नसक्दा आमनेपालीमा देखिएको नैराश्यताको चित्र प्रहरी कर्मचारीकै अनुहारमा पनि देखिन्छ । मुलुकको मुहार फेर्ने हाँक दिइरहेका राजनीतिक नेतृत्वले वास्तविक अवस्था बुझ्न ढिला भइसक्यो । अझै ढिला गर्ने हो भने अवस्था थप भयावह बन्न सक्छ ।