२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

डोल्पाको शे–फोक्सुण्डोमा १२ वर्षे मेलाः डा. रुइतले आँखाको निःशुल्क शल्यक्रिया गर्ने

ADV
पुर्ण कुमार
२०८१ असार ३१ गते २१:१५
डोल्पाको शे–फोक्सुण्डोमा १२ वर्षे मेलाः डा. रुइतले आँखाको निःशुल्क शल्यक्रिया गर्ने

डोल्पा : हिमाली जिल्ला डोल्पाका लाग्ने ६७ औँ बाह्र वर्षे शेल्री डुग्ड्रा मेलामा ख्याति प्राप्त डाक्टर सन्दुक रुइत आउने भएका छन् । 

आगामी भदौ १२ देखि १९ गतेसम्म हुने १२ वर्षे मेलामा आँखाको भगवानको रुपमा परिचित डाक्टर रुइतले शे–मेला अवधिभर निःशुल्क रुपमा आँखाको बिरामीको शल्यक्रिया गर्ने भएका छन् । आँखाको शल्यक्रियाको लागि आनन्द संघ फुलाहारी काठमाडौंको आर्थिक सहयोग रहनेछ भने प्राविधिक सहयोग तिलगंगा आँखा प्रतिष्ठान डाक्टर रुइत अनि शे–मेला मुल आयोजक समिति रहनेछ ।

आँखाको शल्यक्रिया गर्नको लागि बिरामीको पहिचान गर्ने तीन वटा टोली परिचालन हुनेछ । पहिलो टोली छार्का ताङसोङ गाउँपालिका, दोस्रो टोली काईके हुँदै डोल्पोबुद्ध गाउँपालिका र तेस्रो टोली सुलिगार्ड हुदै शे–गुम्बा पुगेर शल्यक्रिया गर्ने आँखाका बिरामीको पहिचान गरिने ६७ औँ बाह्र वर्षे शेल्री डुग्ड्रा मेला प्राचार–प्रसार समितिका संयोजक पेमावाङछेन गुरुङले जानकारी दिए ।

उनका अनुसार डाक्टर रुइत दुनैबाट फोक्सुण्डो तालसम्म पैदल यात्रा गर्ने र फोक्सुण्डोबाट शे–गुम्बा सम्म हेलिकप्टरबाट जाने कार्यक्रम तालिका रहेको छ । रुइतले मेला अवधिभर मात्रै नभएर आँखाका शल्यक्रिया गर्नुपर्ने सबै बिरामीको निःशुल्क शल्यक्रिया गरेर मात्रै फर्कनेछन् । 

यसका साथै ६७ औँ बाह्र वर्षे मेलामा बौद्ध धर्मालम्बीहरुका ढिघुङ काक्यु ३७ औँ प्रसिद्ध धर्म गुरु ढिघुङक्यागोन छेप्साङ रिम्पोछे, बोन धर्म संकायको मेनरी पान्लोप रिम्पोछे र हुम्लामा जन्मीएका प्रसिद्ध अवतारी गुरु टुल्कु पेम्मा रिक्साल रिम्पोछेको उपस्थिति रहनेछ । 

यसका साथै प्रमुख अतिथिका रुपमा प्रधानमन्त्रीको समय मागेको र यदि प्रधानमन्त्रीको समय नभएको अवस्थामा कर्णाली प्रदेशका मुख्यमन्त्री र डोल्पा जिल्लाका मन्त्री सबैको विशेष अतिथिका रुपमा उपस्थिति रहने प्रचार–प्रसार संयोजक गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार ६७ औँ बाह्र वर्षे मेलाको कार्यक्रम तालिका समेत सार्वजनिक गरिएको छ । 

पहिलो दिन बिहान १० बजे नेपाल सरकारका मन्त्रीहरु, सांसद तथा सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरुलाई आयोजक समिति र प्रतिनिधिहरुद्वारा स्वागत कार्यक्रम, बिहान ११ बजेदेखि १२ः३० सम्म प्रमुख अतिथिद्वारा कार्यक्रमको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

दोस्रो दिन बिहान १० बजेसम्म सम्पूर्ण तिर्थालुहरुद्वारा प्रसिद्ध शेल्री डुग्ड्रा पर्वत र बीचमा भेटिने गुम्बाहरुको तिर्थ कार्यक्रम, बिहान १०ः३० देखि ३७ औँ धर्म गुरु डिगुङ क्याब्गोन छेत्छाङ रिन्पोछेुबाट पवित्र सचेतनाको प्रवचन तथा अनुशिक्षण कार्यक्रम,दिनको १ः४५ देखि ३७औँ परम धर्म गुरु डिगुङ छेत्छाङ रिन्पोछेद्वारा पवित्र सचेतनाको अनुशिक्षण कार्यक्रम साथै दिर्घायु अभिषेक प्रदान गरिनेछ ।

तेस्रो दिन बिहान ८ः३० बजेदेखि धर्म गुरु छ्योक्टुल पेमा रिक्चाल रिन्पोछेद्वारा असंगद्वारा रचित पवित्र बोदिसात्वको ३७ अभ्यासको प्रशिक्षण कार्यक्रम, दिनको १ः४५ देखि धर्म गुरु क्याब्जे मेनरी पोन्लोप ठिन्ले ङिमा रिन्पोछेद्वारा बार्दो अनुशिक्षणको साथै अन्तमा ज्यारिमाको दिर्घायु अभिषेक प्रदान कार्यक्रम गरिनेछ । 

चौथो दिन बिहान ८ः३० बजेदेखि धर्म गुरु छ्योक्टुल पेमा रिक्चाल रिन्पोछेद्वारा असंगद्वारा रचित पबित्र बोदिसात्वको ३७ अभ्यासको प्रशिक्षण कार्यक्रम,दिनको १ः४५ देखि धनुतिर तरन्जी खेल, घोडा धौड र अन्य बिभिन्न प्रकारका खेल मनोरञ्जन आयोजन गर्नुको साथै चिकित्सक शिविर, आँखा शिविर र शल्यक्रिया समेत गरिनेछ ।

पाँचौँ दिन बिहान ८ः३० बजेदेखि टुल्कु पेम्मा रिक्चाल रिन्पोछेद्वारा दिर्घायुको अभिषेक प्रदानको कार्यक्रम, दिनको १ः४५ देखि ४ बजेसम्म स्थानीय परम्परागत नाचगान प्रस्तुति र आँखा शिविर सञ्चालन हुनेछ । 

छैटौँ दिन धर्म गुरुहरु र अतिथिहरुको विदाइ कार्यक्रम, दिनको १ बजेदेखि विभिन्न स्थानीय परम्परागत नाचगान र साँस्कृतिक कार्यक्रमहरुको साथसाथै कार्यक्रमको औपचारिक समापनको कार्यक्रम रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise