लिस्बन : पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी संघसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन् ।
लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेसमा भएको सो भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता एशोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वको टोलीले विशेष गरी पोर्चुगल सरकारले हालै जारी गरेको आप्रवासन नीति पुनःबिचार गरी संशोधन गर्न आग्रह गरेको थियो ।
भेटवार्तामा टोलीले पोर्चुगल सरकारले हालै परिवर्तन गरेको आप्रवासनसम्बन्धी नीतिनियमका कारण आप्रवासीमा देखापरेका समस्या र कठिनाइका विषयमा राष्ट्रपतिसमक्ष ध्यानाकर्षण गराएको टोलीमा सहभागी नेपाली प्रतिनिधि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापाले बताए ।
आप्रवासनसम्बन्धी परिवर्तित नीतिनियमका कारण लाखौं आप्रवासी प्रभावित भएको जनाउँदै सो विषयमा पुनर्विचार गरी संशोधन गर्न आग्रह गरिएको उनले बताए । आप्रवासीलाई कडाइ नगर्न आप्रवासी प्रतिनिधिहरूले राष्ट्रपतिसमक्ष आग्रह गरेको टोली सदस्य थापाले बताए ।
उनका अनुसार आप्रवासी प्रतिनिधिले राखेको आप्रवासनसम्बन्धी परिवर्तन भएको नीति र आप्रवासीका समस्याका विषयमा राष्ट्रपति सौसाले विशेष चासो व्यक्त गर्दै आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।
सो अवसरमा टोलीले आप्रवासीका समस्या र कठिनाइका विषयमा ५१ आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेको ज्ञापनपत्र राष्ट्रपति समक्ष बुझाएको थियो ।
पोर्चुगलको नेपाली समुदायको प्रतिनिधित्व गर्दै थापाले नेपाली समुदायको अवस्था, समस्या, नेपालीका सवाल र चासोका विषयमा समेत राष्ट्रपतिलाई अवगत गराएका थिए । सोही अवसरमा थापाले गैरआवासीय नेपाली संघ पोर्चुगलले प्रकाशन गरेको ‘नेपाल–पोर्चुगल दर्पण’ स्मारिका राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए । पुस्तक ग्रहण गर्दै राष्ट्रपति सौसाले नेपाल- पोर्चुगलको साँस्कृतिक र सामाजिक सम्बन्ध झल्काउने स्मारिका प्रकाशन गरेकोमा खुशी हुदै धन्यवाद ब्यक्त गरेको थापाले बताए ।
भेटवार्तामा नेपालसहित, ओल्हो भिभो, केप भर्डे, गिनी, बंगलादेश र ब्राजिलका आप्रवासी संघका सात सदस्यीय प्रतिनिधि सहभागी भएका थिए ।
गत महिना पोर्चुगल सरकारले आप्रवासनसम्बन्धी नयाँ नीति लागू गर्दै आप्रवासीका लागि कडाइ गरेपछि आप्रवासीहरू प्रभावित भएका छन् । सरकारले यहाँको आवास अनुमतिका लागि आवेदन दिने प्रकिया नै बन्द गरेपछि आप्रवासीहरू प्रभावित भएका हुन् ।