२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

सुदूरपश्चिममा रोपाइँ सकिँदा मधेशमा सुक्खा

shivam cement
छबि सापकोटा
२०८२ साउन १९ गते ०६:२५
सुदूरपश्चिममा रोपाइँ सकिँदा मधेशमा सुक्खा

काठमाडौं : साउनको तेस्रो साता लाग्दासमेत मधेश प्रदेशमा रोपाइँ हुन सकिरहेको छैन । अकासे पानीको भरमा कृषि गर्नुपर्ने बाध्यताकै कारण मधेशका अहिले रोपाइँ हुन सकिरहेको छैन । मधेशमा वर्षा नहुँदा धान रोपाइँ गत वर्षको तुलनामा निकै कम भएको छ । अन्य प्रदेशमा धान रोपाइँ सकिनै लाग्दा मधेशमा साउनको १८ गतेसम्म ५७ दशमलव २८ प्रतिशत मात्र रोपाइँ भएको छ । पानी नपर्दा रोपाइँ भएको खेतमा समेत धाँजा परेको छ । वर्षाको प्रतीक्षामा रहेका किसान समय नै धान रोप्न नपाउँदा पीरमा छन् । गत वर्ष साउन २० गतेसम्म ९५ प्रतिशत रोपाइँ गरेर सकाएका मधेश प्रदेशका किसानले अहिले आधा जमिनमा मात्र रोपाइँ गरेका छन् । 

गत वर्ष साउन तेस्रो सातसम्म देशभर रोपाइँ सकिएको थियो तर यस वर्ष ढिला वर्षा र निकै कम वर्षा हुँदा साउनको १८ गतेसम्म ८३ प्रतिशत रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । 

हालसम्म देशभर ८३ दशमलव ८८ प्रतिशत रोपाइँ भएको छ । धान खेतीका लागि उर्वर मानिने मधेश प्रदेशमा कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर खेतीयोग्य जमिनमध्ये अहिलेसम्म २ लाख १३ हजार ४ सय ३८ हेक्टरमा मात्रै रोपाइँ भएको छ । 

कृषि विभागका अनुसार गत वर्षको यही अवधिमा ९६ दशमलव ४७ प्रतिशत रोपाइँ भएको थियो । आइतबारसम्म सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ ।

सुदूरपश्चिममा १ लाख ७६ हजार १ सय ५१ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १ लाख ७५ हजार ६ सय ५२ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । सुदूरपश्चिममा ९९ दशमलव ७२ प्रतिशत जमिनमा रोपाइँ भएको छ । 

यस्तै, कोशी प्रदेशमा ८९ दशमलव ३ प्रतिशत, बाग्मती प्रदेशमा ९२  दशमलव ९२ प्रतिशत, गण्डकीमा ८८ दशमलव ९७ प्रतिशत रोपाइँ गरिएको छ । 

तर पश्चिम नेपालमा भने रोपाइँ अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ । आइतबारसम्म लुम्बिनी प्रदेशमा ९५ दशमलव ९६ प्रतिशत, कर्णाली प्रदेशमा ९६ दशमलव ४७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ७२ प्रतिशत रोपाइँ सकिएको छ । साउन १८ गतेसम्म १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर धानखेतीयोग्य जमिनमध्ये ११ लाख ५६ हजार ६ सय ८७ हेक्टर जमिनमा धान रोपिएको छ । अझै देशका सातवटै प्रदेशमध्ये सबैभन्दा धेरै रोपाइँ हुने अपेक्षा मधेश प्रदेशमा गरिएको छ । त्यहाँ ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ । 

त्यसपछि क्रमशः लुम्बिनी प्रदेशमा ३ लाख २ हजार ९ सय ३९ हेक्टर, कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टर, सुदूरपश्चिम प्रदेशमा १ लाख ७६ हजार १ सय ५१ हेक्टर, बागमती प्रदेशमा १ लाख २० हजार ५ सय ४५ हेक्टर, गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टर र कर्णाली प्रदेशः ४० हजार ८ सय ८४ हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ ।

कृषि विभागका अनुसार यस वर्ष कुल १३ लाख ८३ हजार ७ सय ३२ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरिएको छ । गत वर्ष १४ लाख २० हजार हेक्टरभन्दा बढी क्षेत्रमा रोपाइँ भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise