लक्ष्मण पोखरेल/मध्यान्ह
काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा प्रेम पाण्डेको नामले परिचित पुण्य प्रसाद पाण्डे चलचित्र र टेलिचलचित्रका लागि एक स्थापित नाममा भइसकेको छ । पचासको दशकको अन्त्यबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका प्रेम पाण्डे एक व्यस्त कलाकारमा गनिन्छन् । निर्देशक नारायण पुरीको चलचित्र मामाघरबाट चलचित्र यात्रा थालनी गरेका पाण्डेले दर्जन भन्दा बढी चलचित्र र टेलिचलचित्रमा कुशल अभिनय प्रस्तुत गरिसकेका छन् । हरेक किसिमको अभिनय गर्न खप्पिस मानिने पाण्डेको यो यात्रा आज परान्त जारी छ ।
चलचित्र मामाघरमा नायक शिव श्रेष्ठको साथीको भूमिकामा पहिलो पटक क्यामेरा फेस गरेका पाण्डेले कलाकारिताबाट यो नाम र उचाई हासिल गर्ने कल्पनासमेत गरेका थिएनन् । आजको यो लोभलाग्दो करियर र उचाई देखेर उनी मख्ख छन् । कलाकारिता क्षेत्रमै जीवन समर्पण गर्ने अठोटका साथ लागि परेका पाण्डेले चलचित्र मामाघर पछि पछाडि फर्केर हेर्नु परेको छैन । ब्लकबस्टर चलचित्रहरु छक्क पञ्जा १, २, ३, छ माया छपक्कै, कर्तव्य, नारी, कानून, सपुत शेरबहादुर, जात्रा, जात्रै जात्रालगायतका चलचित्रहरुमा अभिनय गरिसकेका छन् ।
चर्चित टेलिसिरियल तितो सत्य, जिरे खुर्सानी, यातना, जीवनचक्र, ट्वाक्क टुक्का रिटन्र्स, परिचय, टेन्सन साप, उल्टो सुल्टो, रिसानी माफ, बाउन्न ठक्कर त्रिपन्न घुस्सालगायतका सिरियलहरुमा उनको अभिनय देख्न सकिन्छ । उनको आउने चलचित्रहरुमा हृदयभरी, परदेशी, सृष्टिका फुललगायतका रहेका छन् । पाण्डेले चलचित्र टेलिचलचित्र बाहेक आधा दर्जन भन्दा बढी विज्ञापनहरुमा समेत अभिनय गरिसकेका छन् ।
२०४९ सालमा झापाको बुधबारेबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका पाण्डेको परिचय कलाकारको मात्र नभएर कला सिकाउने गुरु समाजसेवीको नामले पनि परिचित छ । काठमाडौंका केही नाम चलेका स्कूल कलेजहरुमा उनी कलाकारिता पढाउँछन् । २०६५ सालमा पशुपति क्षेत्र विकास कोषको संचालन परिष्दको सदस्य भएर कामसमेत गरिसकेका पाण्डेले नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनका केन्द्रीय सदस्य समेत हुन् ।
त्यस्तै नेपाल मानव धर्म सेवा समिति, नेपाल टेलिभिजन, महानगरीय प्रहरी प्रभाग व्यावस्थापन तथा भवन निर्माण समिति, महानगरीय प्रहरी परिषद काठमाडौं, फिल्म निर्माण विभिन्न संघसंस्थाबाट सम्मान प्रशंसा र अवार्डबाट सम्मानित भइसकेका छन् । चलचित्र निर्माताको रुपमा छिट्टै आउने तयारीमा रहेका पाण्डे बाउन्न घुस्सा त्रिपन्न ठक्कर हास्य टेलिसिरियलका निर्माता समेत हुन् । कोभिड र लकडाउनको अन्त्यसँगै चलचित्र निर्माण होमिने तयारी गरेका पाण्डेले बनाउन लागेको चलचित्र अन्तर्राष्ट्रिय मञ्चमा प्रर्दशन गर्न लायकको हुने उनी बताउँछन् ।
चलचित्र निर्देशक नारायण पुरीलाई विशेष गरी सम्झने प्रेम पाण्डे कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, निर्देशक प्रदिप भट्टराईलाई पनि सम्झिन चाहन्छन् । उनीहरुकै साथ र हौसलाले कलाकारिता क्षेत्रमा जम्न सफल भएको बताउने पाण्डेलाई मनपर्ने कलाकारहरुमा हरिवंश आचार्य, मदनकृण्ण श्रेष्ठ, दिपकराज गिरी, दिपाश्री निरौला आदि हुन् ।
कोभिड १९ का कारण हरेक क्षेत्र जस्तै चलचित्र क्षेत्र पनि प्रभावित भइरहेको अवस्थामा सरकारले चलचित्र क्षेत्रलाई महत्व नदिएकोमा उनी गुनासो व्यक्त गर्छन् । पछिल्लो समय केही नेपाली चलचित्रहरुले अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाउन सक्ने ल्याकत सिर्जना गरिरहेका थिए । लकडाउन र कोभिडका कारणले डामाडोल भएको र छिट्टै यो अवस्थाको अन्त्य हुने र फेरि नयाँ सोच र जोशका साथ नेपाली चलचित्र क्षेत्र जगमगाउने विश्वासमा रहेका पाण्डे अहिलेको यो अवस्थामा पनि सिर्जनशील काममै व्यस्त रहेका छन् ।
केही गीतहरुको म्युजिक भिडियो निर्माणका साथै आफ्नै शब्दमा केही गीतहरु बजारमा ल्याउने तयारी गरिरहेका पाण्डे लकडाउन र कोभिडको अन्त्यसँगै चलचित्र निर्माणमा होमिने तयारीमा आफु रहेको बताउँछन् । देशको पछिल्लो राजनितिक अवस्थाबाट सन्तुष्ट बन्न नसकेका पाण्डे देशको राजनीतिक अवस्थाबाट आमनागरिक जस्तै खुसी छैनन् । कालाकारिताबाटै आफ्नो परिचय बनाउन सफल पाण्डे यही पेशाले आफुलाई सबथोक दिएको बताउँछन् । झापाबाट काठमाडौं निवासी बनिसकेका उनी यो पेशा र यसले दिएको आमसम्मानबाट खुसी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies