२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

सुनसरी रास्वपामा भाँडभैलो, सभापति र कोषाध्यक्षले दिए राजीनामा

shivam cement
तेज बन
२०८२ साउन १९ गते २०:४७
सुनसरी रास्वपामा भाँडभैलो, सभापति र कोषाध्यक्षले दिए राजीनामा

सुनसरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीमा गुटबन्दी र आन्तरिक किचलोले चुलिँदा जिल्ला सभापति जीवन कुमार श्रेष्ठ र कोषाध्यक्ष देवराज अधिकारीले पदबाट राजीनामा दिएका छन् । 

निलम्बनमा रहेका सभापति श्रेष्ठले आइतबार राजीनामा दिएलगत्तै करिब ८ घण्टापछि कोषाध्यक्ष अधिकारीले पनि राजीनामा बुझाएका हुन् । पार्टीभित्र हेपाहा प्रवृत्ति, गुटबन्दी, तानाशाही निर्णय र एकलौटी अधिकार प्रयोग भएको आरोप लगाउँदै दुवै जनाले पद त्याग गरेका हुन् । 

दुवै नेताले पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याललाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् । उनीहरूले पार्टीभित्रको अवस्थाप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि सुनसरीलगायत जिल्लामा आन्तरिक विवाद सतहमा आइरहेको उल्लेख गरेका छन् । 

कोषाध्यक्ष अधिकारीले पार्टीभित्रको विवादमा केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरूले सिधा हस्तक्षेप गरेकाले अवस्था जटिल भएको बताएका छन् । 

पूर्वसभापति श्रेष्ठले पार्टीका कोशी प्रदेश महामन्त्री लालबिक्रम थापामाथि गम्भीर आरोप लगाउँदै विरोध जनाएका थिए । उनले जनता स्कुलको जग्गा भाडामा लिएर रकम अपचलन गरेको, आन्तरिक विषयमा जबरजस्ती हस्तक्षेप गरेकोलगायतका गतिविधिमा थापा संलग्न रहेको दाबी गरेका छन् । उनले थापाको निलम्बनको माग गर्दै आएका थिए । 

नगर तहमा पनि विवाद

महामन्त्री थापाकै कारण इटहरी उपमहानगर कमिटीमा पनि विवाद चुलिएको छ । नगर सभापति विष्णु बस्नेतलाई निलम्बन गरेपछि विवादले नयाँ मोड लिएको थियो । 

साउन १० गते तय भएको अधिवेशन बस्नेतले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेपछि रोकिएको थियो । अदालतले साउन १२ गते दुबै पक्षलाई छलफलमा बोलाएपछि साउन १७ गते अधिवेशन सम्पन्न भयो । तर अधिवेशनपछिको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise