२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज

ADV
क्षितिज किरण
२०८१ साउन २ गते २१:२६
लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज

बुटवल : सरकारले सोधभर्ना नदिने भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा विगत २ वर्षदेखि लागू हुँदै आएको निःशुल्क टिकटको सुविधा हटाइएको छ । साउन १ गतेदेखि नै लागू हुने गरी लुम्बिनी प्रादेशिक अस्प्ताल र राप्ती प्रादेशिक अस्पतालमा बहिरङ्ग सेवा तथा जनरल वार्डमा सेवाग्राहीले शुल्क तिर्नुपर्ने भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालले साउन १ गते मंगलबार एक सूचना जारी गर्दै सेवालाई स–शुल्क गरिएको जानकारी दिएको छ । सेवाग्राहीले ओपीडी सेवाका लागि ३० रुपैयाँ र पुनः दर्ताका लागि १५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसैगरी जनरल बेडका लागि प्रतिदिन ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

अस्पतालले सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराएको सेवाबापत सरकारले सोधभर्ना नदिने निर्णय गरेपछि पुरानै व्यवस्थालाई कायम गरी शुल्क लिन बाध्य हुनु परेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए ।

हाल अस्पताल विकास समिति निष्क्रिय रहेको र मेडिकल सुपेरिटेन्डेन्टको जिम्मेवारी समेत निष्क्रिय हुँदा अस्पतालले छुट्टै निर्णय गर्न नमिल्ने उनले बताए । यस्तो अवस्थामा सरकारको नियम लागू गर्नुपर्ने बाध्यता रहेको केसीले बताए । 

अस्पतालमा हाल दैनिक १ हजार ५ सय बढीले सेवा लिने गरेका छन् । २०७९ साउन १ गतेदेखि लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आकस्मिक र बहिरंग सेवाको टिकट तथा शय्याबापत शुल्क नलाग्ने व्यवस्था गरिएको थियो ।

सोबापतको रकम सरकारले अस्पताललाई उपलब्ध गराउँदै आएको थियो । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपीडी (बहिरंग सेवा) र इमर्जेन्सी (आकस्मिक सेवा)को टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise