२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

रौतहटमा म्याजिक भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना गम्भीर घाइते

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ मंसिर ७ गते २१:३९
Shares
रौतहटमा म्याजिक भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना गम्भीर घाइते

रौतहट : जिल्लाको देवाही गोनाही नगरपालिकामा म्याजिक भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका छन् । सोमबार साँझ करिब ५ बजे देवाही गोनाही नगरपालिका–६ कर्कचस्थित भित्री सडक खण्डमा उक्त सवारी दुर्घटना भएको हो । 

​प्रहरीका अनुसार मौलापुरबाट कटहरियातर्फ जाँदै गरेको ना ४ च ७८०४ नम्बरको म्याजिक भ्यान र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३० के ८६३० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । तीव्र गतिका कारण अनियन्त्रित भई दुई सवारी साधन आपसमा जुधेको प्रारम्भिक अनुमान गरिएको छ ।

​दुर्घटनामा मोटरसाइकल चालक रौतहटको परोहा नगरपालिका–३ तेजापाकड बस्ने करिब २९ वर्षीय सुरेन्द्र ठाकुरसहित पछाडि सवार दुई महिला गम्भीर घाइते भएका छन् । चालक ठाकुरको अनुहार टाउको र निधारमा गहिरो चोट लागेको छ । यस्तै मोटरसाइकल पछाडि सवार परोहा नगरपालिका–३ तेजापाकडकै करिब २५ वर्षीया सरिता देवीको खुट्टामा गम्भीर चोट लागेको छ भने बाराको महागढीमाई नगरपालिका–१ दहियार भवानीपुर बस्ने करिब २४ वर्षीया उषा कुमारीको टाउको तथा निधार काटिनुका साथै खुट्टामा समेत गम्भीर चोट लागेको प्रहरीले जनाए ।

​दुर्घटनालगत्तै तीनै जना घाइते बोल्न नसक्ने अचेत अवस्थामा रहेकाले तत्काल उद्धार गरी उपचारका लागि पर्साको वीरगन्ज पठाइएको थियो । सुरुमा वीरगन्जस्थित नारायणी अस्पताल लगिएकोमा थप जटिल उपचारका लागि हाल तीनै जनाको वीरगन्जस्थित नारायणी न्युरो एण्ड जेनेरल अस्पताल रिसर्च सेन्टर प्रा.लि.मा उपचार भइरहेको छ । घाइतेहरूको उपचारमा म्याजिक धनी रौतहट चन्द्रपुर नगरपालिका–६ निवासी अरुण साह संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र म्याजिक चालक चन्द्रपुर नगरपालिका–६ का करिब २७ वर्षीय राजु चौधरीलाई नियन्त्रणमा लिएको छ । 

​दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर