
काठमाडौं : सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरणका लागि आयोग गठन गर्ने भएको छ । यससम्बन्धी व्यवस्था गर्न तयार पारिएको अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
अध्यादेश जारी भएपछि आन्दोलनका क्रममा भएका घटनाको थप छानबिन, पीडितलाई क्षतिपूर्ति, सम्बन्धित पक्षबीच मेलमिलाप तथा गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो टुंग्याउने कानुनी आधार तयार हुने सरकारी अधिकारीहरूले बताएका छन् ।
स्मरणीय छ, २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनसँग सम्बन्धित विभिन्न घटनामा मुद्दा खेपिरहेका व्यक्तिहरूको माग सम्बोधन गर्ने उद्देश्यले सरकारले आयोग गठनको तयारी गरेको हो ।