काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका, संघीय सांसदको संख्या बढी भएको बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशहरुको संख्या, पालिकाको संख्या र संघीय सांसदहरुको संख्या बढी भएकाले यसबारेमा विचार गर्न जरुरी रहेको बताए ।
संविधान संशोधन गर्न सकिने भएकाले त्यसमा चिन्ता लिन नपर्ने उनको भनाइ थियो । उनले वर्तमान सरकारले संविधान संशोधनको एजेन्डालाई आफ्नो सहमतिको दस्ताबेजमा राखेको, तर कठिन विषय रहेको पनि बताए ।
एक वर्षमा कुन विषयमा संशोधन गर्ने भन्नेकुरा पनि तय गर्न नसकिएको उनको भनाइ छ । राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता विषयलाई छुँदै नछुने हो भने अन्य विषयमा संशोधन गर्न त्यत्ति गाह्रो नपर्ने, तर अर्थ नराख्ने स्पष्ट पारे । राज्यको आर्थिक अवस्थाले अहिलेका संरचनाहरु धान्न कठिन भएको उनले बताए ।
प्रमुख सचेतक घिमिरेले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकिएको बताए । संविधान निर्माण गर्ने बेलामा हौसिएर कार्यान्वयनमा ल्याउन व्यवहारिक नभएका केही कुराहरु बढाएर राखिएको उनले उल्लेख गरे ।