चितवन : स्टार स्पोर्ट क्लब बरुवाको आयोजनामा मंगलबारदेखि सुरु भएको राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा भरतपुर–२४ विजयी भएको छ ।
माडीको जनकल्याण तमु समाजलाई टाइब्रेकरमा पराजित गर्दै भरतपुर–२४ ले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । मंगलबार भएको उद्घाटन खेलमा निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो ।
प्रतियोगिताअन्तर्गत बुधबार बसन्तपुर युनाइटेड क्लब माडी र रामपुर फुटबल क्लब रामपुरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
स्टार स्पोर्ट क्लब बरुवाले हरितालिका तिज र जितियाको अवसर पारेर माडीको बरुवामा आयोजना गरेको ३०औं स्टार कप फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको पूर्वसचिव टिकाराम सुवेदीले जानकारी दिए ।
फाइनल खेल भदौ २१ गते हुने छ । प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु. २ लाख ५१ हजार १११ प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टोलीले मेडल, प्रमाणपत्रसहित नगद रु. १ लाख २५ हजार ५५५ प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने अध्यक्ष सन्देश बरालले जानकारी दिए ।
स्टार स्पोर्ट क्लबले हरेक वर्ष तिज पर्वको अवसर पारेर यो प्रतियोगिता गर्दै आएको छ ।