काठमाडौं : भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।
शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिनेछन् । बिहीबार सभामुखसँगको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने क्रममा सभा बहिष्कार नगर्ने बताए ।
सदनमा बोल्न पाउने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएको उल्लेख गर्दै बोल्न पाउने कुरा अग्राधिकारमा रहने उनले जिकिर गरे । आफूहरु संसदमा आन्दोलनमै भएपनि कतिपय कामहरु ख्याल गर्नुपर्ने उनको भनाइ छ ।
शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् ।