यो वर्षको दशैं शुरु भएको छ । दशैं मनाउन शहरबाट गाउँ फर्कने क्रम बढेको छ भने तयारी हुने नै भयो । राजधानी उपत्यका सहित ठूला शहरी क्षेत्रमा विभिन्न प्रयोजनमा निम्ति अस्थायी बसोबास गरिरहेकाहरु दशैं मनाउन गाउँ फर्कदैछन् । दशैंमा फर्कनेहरुको संख्या बढ्ने भएकाले लामो दूरीका यातायात र हवाई जहाजको भाडा समेत बढेको छ । यस्तो बेला सरकारले आवश्यक निगरानी राख्न जरुरी हुन्छ । दशैंको गतिविधिका कारण उपभोग्य सामग्रीको समेत मूल्य बढाउने समस्या पुरानै हो । व्यापारीको कृतिम अभाव देखि अनियन्त्रित मूल्य बृद्धिबारे समेत सरकारले कठाइ गर्न जरुरी छ । अराजक बजारबाट आमनागरिक ठगिनु सरकार प्रभावकारी नरहेको प्रमाण समेत हो ।
त्यसैले सरकारले बजार निगरानीमा विशेष ध्यान दिन जरुरी छ । लामो तथा छोटो दूरीको भाडा, जहाजको टिकट, उपभोग्य सामग्रीको मूल्य सकेसम्म निर्धारण गरिनु राम्रो हो । तर बजारको सवै सामग्रीको मूल्य निर्धारण सरकारको तत्कालीन सामथ्र्य भन्दा बाहिर देखिन्छ । किनकि खुला र उदार अर्थव्यवस्थामा मूल्य निर्धारण बजारले नै गर्ने गर्छ । तर कृतिम अभाव सिर्जना गरेर अनियन्त्रित तरिकाले मूल्य बृद्धिबाट नागरिकलाई जोगाउनु सरकारको दायित्व हो । अझ मुलुक कोरोना महामारीको खतराबाट मुक्त भइसकेको छैन । अघिल्लो वर्षमा जस्तै यो वर्षको दशैंमा पनि कोरोना महामारीको संक्रमणमा केही कमी आएको छ । तर पर्याप्त खोप उपलब्ध नभएकाले कोरोना संक्रमणको खतरा टरिसकेको छैन ।
अझ तेस्रो लहरको संक्रमणको त्रासदी कायमै छ । गत वर्ष पनि कोरोना महामारी केही घटेर गएपनि दोस्रो लहरको संक्रमणले ठूलो मानवीय, आर्थिक र सांस्कृतिक क्षति पुगेको छ । दोस्रो लहरको महामारीबाट नेपालमा पनि आठ हजार बढी नागरिकले ज्यान गुमाए । पहिलो लहरको महामारीबाट तीन हजार हाराहारी नागरिकले ज्यान गुमाएका थिए । तर दोस्रो लहरमा त्यो संख्या एघार हजार नाघेको छ । अतः नागरिकले कोरोना महामारीबाट सतर्कता रहेर दशैं मनाउन जरुरी छ । अनि, सरकारले पनि महामारीको रोकथामका लागि आवश्यक निर्णय गर्ने देखि नागरिकलाई सहज तरिकाले दशैं मनाउने बातावरण मिलाइ दिन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies