काठमाडौं : रुपन्देही–३ को उपनिर्वाचनले मुलुककै ध्यान तानेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू सम्भावित उम्मेदवारबारे छलफलमा छन् । कातिक १७ गते उपनिर्वाचन गर्ने तय भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने दुई महिना अगाडि नै उम्मेदवार तय गरेको छ । रास्वपाले आइतबार रुपन्देही– ३ मा पार्टीका तर्फबाट डा लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । थापा रास्वपाकै ८ जना आकांक्षीलाई पछि पारेर उम्मेदवार छनोट भएका हुन् । रास्वपाबाट थापासँगै सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षी थिए । रास्वपाको प्राइमरी इलेक्सनबाट थापा उम्मेदवार हुने चयन भएका हुन् ।
रास्वपाले उम्मेदवार छानेता पनि अन्य दलहरूको भने बाँकी नै छ । यो क्षेत्रमा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेता पनि अन्तिम टुंगो लागेको छैन । यो क्षेत्रमा एमालेबाट नेता एवं व्यवसायी शशी पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी र नेता यज्ञजित शाह लगायतले समेत आकांक्षा राखेका छन् ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि कसलाई उम्मेदवार बनाउने टुंगो लागेको छैन । यो क्षेत्रका मतदाताको आकांक्षा बुझ्न र त्यसअनुसारको उम्मेदवार चयन गर्ने गरी कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा खटिएका छन् । कांग्रेस पार्टीभित्र उम्मेदवार छनोट गर्न तल्ला समितिबाट सिफारिस भएर अगाडि बढ्नुपर्ने लगायतका विधि समेत रहेको छ ।
नेकपा माओवादी केन्द्रले पनि यो क्षेत्रमा उम्मेदवार तय गरेको छ । माओवादी केन्द्रको पार्टी कमिटी उम्मेदवार खडा गर्ने विषयमा छलफलमै रहेका छन् ।
मधेशकेन्द्रित दलहरू साझा उम्मेदवार तय गर्ने कसरतमा छन् । संघीय लोकतान्त्रिक मोर्चामा रहेका दलहरूको तर्फबाट साझा उम्मेदवार खडा गर्न लागेका हुन् । मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी (नाउपा) राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन् ।
मोर्चामा दलहरूले रुपन्देही–३ मा नाउपाको उम्मेदवारलाई साझा उम्मेदवार मान्ने नीतिगत निर्णय नै गरेका छन् । तर, मोर्चामा रहेको जनमत पार्टी भने आफ्नो छुट्टै उम्मेदवार तय गर्ने बताएको छ । नाउपाले पनि साझा उम्मेदवार को हो तय गर्न सकेको छैन ।
४ मंसिर २०७९ को चुनावमा रूपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक बोहरा निर्वाचित भएका थिए । बोहराको निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
अधिकांश राजनीतिक दल उम्मेदवार छनोटबारे छलफलमै रहेका बेला रास्वपाले भने उम्मेदवार तय गरेर मैदानमा उतारेको छ ।