
दोहा, कतार : फोक्सोको क्यान्सरबाट पीडित ६७ वर्षीया शोभा मगर्नीको उपचारका लागि कतारका गंगा बुढा मगरको पहलमा देश–विदेशबाट पाँच लाख ४७ हजार ४७८ रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ। गत २३ जुलाई २०२६ देखि सुरु गरिएको सहयोग अभियान बन्द भएको हो ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–३, भोर्ना गाउँ स्थायी घर भएकी शोभा हाल दाङको घोराही उपमहानगरपालिका–८, सौरीमा बस्दै आएकी छन् । उनको भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ । हाल उनको स्वास्थ्यमा सुधार हुँदै गएको जनाइएको छ ।
आर्थिक अवस्था कमजोर रहेको शोभाको परिवारमा वृद्ध श्रीमान्, एक छोरा, बुहारी र तीन नातिनी छन् । छोरा रोजगारीका लागि भारतको केरलामा रहेकाले परिवारलाई उपचार खर्च जुटाउन कठिनाइ भइरहेको अवस्थामा बुढा मगरले सहयोग अभियान सञ्चालन गरेका थिए ।
अभियानका क्रममा बिरामीका परिवारले उपलब्ध गराएका खातामा दुई लाख ९७ हजार ६०४ रुपैयाँ र अभियानकर्ताको खातामा दुई लाख ४९ हजार ८७४ रुपैयाँ जम्मा भएको थियो । अभियानकर्ताको खातामा संकलित रकममध्ये दुई लाख रुपैयाँ जेठी छोरी खिमा पुनको खातामा र ४९ हजार ८७४ रुपैयाँ साहिँली छोरी अस्मिताको खातामा पठाइएको जनाइएको छ । यसरी कुल पाँच लाख ४७ हजार ४७८ रुपैयाँ संकलन भएको हो ।
अभियान सफल बनाउन जापानमा रहेकी पीमा कवर, रोमनियामा व्यवसाय गर्दै आएका राज पुन मगर र पमिसरा पुनले विशेष समन्वय गरेका थिए । उनीहरूका साथै बेलायत, जापान, पोर्चुगल, रोमनिया, मलेसिया, कुवेत, नर्वेलगायत देशमा रहेका नेपाली तथा रोल्पा जलजला सेवा समाजका पदाधिकारी र सदस्यहरूले सहयोग गरेका थिए ।
अभियानकर्ता मगरले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै संकलित रकमको विवरण मध्यान्ह मार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणमा सहयोगदाताको नाम वा रकम छुटेको अथवा फरक परेको भए जानकारी गराउनसमेत आग्रह गरिएको छ । परदेशमा रहेर पनि मानवीय सेवाको भावनासहित सञ्चालन गरिएको यस अभियानबाट संकलित सहयोगले शोभाको उपचारमा राहत पुगेको छ ।