२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

नुवाकोटको एन्थम गीत ‘हाम्रो नुवाकोट, हामी नुवाकोटे’ कतारमा सार्वजनिक

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक १४ गते २०:०१
Shares
नुवाकोटको एन्थम गीत ‘हाम्रो नुवाकोट, हामी नुवाकोटे’ कतारमा सार्वजनिक

दोहा, कतार : नुवाकोट सेवा समाज दोहा कतारले नेपालीहरूको महान् पर्व विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै नुवाकोटको एन्थम गीत ‘हाम्रो नुवाकोट, हामी नुवाकोटे’को अडियो तथा भिडियो सार्वजनिक गरेको छ । शुक्रवार कतारको सनैयास्थित सेन्चुरी रेस्टुरेन्ट, प्लाजा मलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा रामजी थापा मगरको अफिसियिल युट्युवमार्फत सार्वजनिक गरिएको गीतको भिडियोको प्रिमियर गरिएको थियो । 

समाजको विशेष पहलमा तयार भएको गीतमा सिद्धान्त परियार, सुनील थापा मगर, पवित्र गुरुङ र मुना खड्काको स्वर रहेको छ। पुरु लम्सालको शब्द रचना तथा रामजी थापा मगरको निर्देशन र संगीत रहेको गीतको भिडियो सम्पादन तथा कलर ग्रेडिङ रोशन धितालले गरेका हुन्। गीत तथा भिडियोमा नुवाकोटको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई समेटिएको छ। बेल कोट, धैबुङकोट, धुवाकोट र सल्यान कोटजस्ता ऐतिहासिक स्थलसँगै दुप्चेश्वर, सूर्य कुण्ड, पञ्चकन्या, शिवपुरी, ककनी, बेलकोटगढी, मेघाङ र किस्पाङलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको दृश्य प्रस्तुत गरिएको छ। त्रिशूली र तादी नदीसहित जिल्लाको प्राकृतिक सुन्दरता, बहु जातीय तथा बहुभाषिक विशेषतालाई पनि गीतमा समेटिएको छ ।

समाजका अध्यक्ष बुद्धिमान रुम्बा तामाङको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, प्रदेश समन्वय परिषद्का पदाधिकारी र नुवाकोटवासी नेपालीहरूको उपस्थिति थियो। भिडियो प्रदर्शनपछि मन्तव्य राख्ने वक्ताहरूले गीतले नुवाकोटको ऐतिहासिक गौरव, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई प्रचारप्रसार गर्न योगदान पुर्‍याउने बताए। नुवाकोट नपुगेका दर्शकलाई समेत जिल्लाका विभिन्न स्थानबारे जानकारी गराउँदै भ्रमणका लागि प्रेरित गर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि पन्थीले नुवाकोटमा भोटेकोसीको बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिमा परेकाहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे। उनले एनआरएनए एनसीसी कतार नुवाकोटवासीको सुख दुःखमा साथमा रहने बताउँदै आपत्कालीन अवस्थामा नुवाकोटका एक व्यक्तिलाई हवाई टिकट उपलब्ध गराएर नेपाल पठाएको स्मरण गरे । श्रमिकको हित र सहयोगका लागि एनसीसी कतार सधैँ तत्पर रहेको उनको भनाइ थियो ।

पन्थीले सार्वजनिक गीतको प्रशंसा गर्दै भिडियोले नुवाकोटका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेको अनुभूति दिलाएको बताए। साथै, कतारमा आयोजना गर्ने तयारी गरिएको स्नेह मिलन कार्यक्रम पर्याप्त आवेदन प्राप्त नभएको र मध्यपूर्वको प्रतिकूल परिस्थितिलगायत कारणले केही समयका लागि स्थगित गरिएको जानकारी दिए । समाजका अध्यक्ष तामाङले विदेशमा रहेर पनि जन्मभूमिको इतिहास, संस्कृति, धर्म, परम्परा र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले गीत निर्माण गरिएको बताए। सामाजिक तथा सांस्कृतिक अभियानलाई सफल बनाउन राजनीतिक विचार र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकजुट हुनुपर्नेमा जोड दिँदै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा कतारमा रहेका नेपाली कलाकारहरूले विभिन्न भाषा भाषीका गीत तथा साङ्गीतिक प्रस्तुति दिएका थिए। अन्त्यमा प्रस्तुत मेहेन्दोमाया गीतमा सहभागीहरू सामूहिक रूपमा नाच्दै रमाएका थिए। कार्यक्रमको सहजीकरण समाजका महासचिव रामप्रसाद वाग्लेले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर