सुर्खेत : उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, प्रादेशिक कार्यक्रम व्यवस्थापन कार्यालय (आरएचभिएपी)को अस्थायी कार्यालय स्थापना भएको छ । सोमबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कार्यालयको शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा मन्त्री शाहले यस कार्यालयको स्थापना अर्को व्यवस्थापन नभएसम्मका लागि अस्थायी कार्यालयको रुपमा रहने बताए ।
मन्त्री शाहले कर्णाली प्रदेशमा कार्यान्वयनको चरणमा रहेको यस कार्याक्रमले प्रदेशको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान प्रदान गर्ने उल्लेख गरे । उनले भने, ‘हाम्रो निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुखी कृषिमा रुपान्तरणका साथै कर्णालीको रैथाने बालीको सम्बर्धन गरी प्रायावरणमैत्री कृषि उत्पादन र बजारीकरणको व्यवस्थापन गर्ने छ ।’
यस्तै, मन्त्री शाहले यस कार्यक्रमबाट साना किसानहरुको आय स्तरमा वृद्धि भइ किसानहरुको जीवनस्तरमा सुधार, कृषि तथा पशुपन्छि क्षेत्रको विकास सँगै रोजगारी सिर्जना गर्ने बताए ।
यस्तै, मन्त्रालयका सचिव परशुराम रावतले आर्थिक वर्ष २०८१/०८२ देखि २०८९/०९० सम्म ८ वर्षसम्म सञ्चालन हुने र कर्णाली प्रदेशमा एक प्रादेशिक कार्यक्रम सुर्खेत, जुम्ला र जाजरकोटमा कोरिडर कार्यालयहरु रहने बताए ।
सचिव रावतले गरिबी न्यूनीकरण गर्ने, साना किसान परिवारको उत्थानशीलता अभिवृद्धि तथा सुधार गर्ने लक्ष्य रसाना किसानहरुको कृषि प्रणालीलाई लाभकारी, समावेशी र प्रायावरणमैत्री बनाइ दिगो खाद्य प्राणालीमा रुपान्तरण गर्न सहयोग गर्ने उदेश्य राखेको बताए ।
कार्यक्रम कर्णाली प्रदेशका ८ जिल्लाका ३२ वटा पालिकामा लागू हुनेछ । कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (इफाड)ले आर्थिक सहयोग गरेको यो कार्यक्रम संघ, प्रदेश, स्थानीय तह र लाभग्राही उत्पादक/उद्यमीसँग मिलेर सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।