२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

जसले मुस्लिम समाजमा बाले शिक्षाको दियो

ADV
२०८१ साउन ५ गते ०६:३०
जसले मुस्लिम समाजमा बाले शिक्षाको दियो

–मोहम्मद जाकिर हुसैन

पूर्वी नेपाली मुस्लिम समाजका अति नै आदरणीय व्यक्तित्व, मुस्लिम समाजको रिफर्मर नै भन्न सकिने निजाम खान आफैँमा इतिहास हो । खानको जीवनी खोतल्ने कार्य हुने नै छ । तत्काललाई उनीसँगको अनुभूति संक्षिप्तमा व्यक्त गर्ने प्रयास गरिएको छ । यसले पनि उनीलाई चिन्न र बुझ्न सहज बनाउँछ । 

निजाम खानको सामाजिक जीवन वैयक्तिक जीवनमाथि हाबी थियो । आफ्नो नीजि निवासभन्दा महत्वपूर्ण उनका लागि उनले स्थापना गरेको मदरसा (जामिया इस्लामिया) रहेछ । गुलजार मात्र होइन, अरूको पनि यस्तै बुझाइ रहेको छ । निजाम खानलाई विराटनगरको मुस्लिम समाज यस शताब्दीकै ‘रिफर्मर’ ठान्दछन् । 

४० को दशकको उत्तरार्धमा जब उनले सरौचियामा माध्यमिक स्तरको आधुनिक पाठ्यक्रमसमेतको मदरसाको परिकल्पना गरे त्यति बेला नेपालका सबैजसो मदरसाहरूमा परम्परागत पाठ्यक्रम नै पठनपाठन हुने गथ्र्याे । विराटनगरजस्तो महानगरीमा उनी, डा. गफुर, हाजी मोतिउल्लाहजस्ता शिक्षा प्रेमीहरूले जब यस मदरसाको जग राखे तब विराटनगरमै पनि एकथरिका मानिसहरूले यसको विरोध गरे; यसको औचित्यलाई चुनौति दिने अभिव्यक्ति दिए । दूर दृष्टि लिएर कम्मर कसेका उनी प्रमुख अभियन्ताको रूपमा आधुनिक मदरसाको जगलाई हल्लन दिएनन् । मदरसाका मौलाना साहबहरूको दैनिक खाना टिफिनमा घर–घरबाट आउँथ्यो । प्रखर धर्मवेत्ता मौलाना सुलैमान कासमी दिनहुँ जसो मुस्लिम व्यापारीहरूको पसल पसल पुगी चन्दा सङ्कलन गर्दथे । बिस्तारै जामिआ इस्लामियाको उन्नति हुँदै गयो । विराटनगरमा यो मुस्लिम समाजकै लागि वैकल्पिक शैक्षिक केन्द्र बन्न पुग्यो । यसपछि उनको विरोध गर्नेहरू पनि उनीप्रति श्रद्धाभाव देखाउन थाले । यो सम्भवतः नेपालको पहिलो लटको आधुनिक पाठ्यक्रमसमेतको माध्यमिक स्तरको मदरसा बन्न पुग्यो, जहाँ नेपाल सरकारले लागू गरेको पाठ्यक्रमअनुसार नै पठनपाठन हुने गर्दछ ।

गुलजारको अभिव्यक्ति सरल त छ तर, त्यसभित्र निजामुद्दीन खानको सजीव चित्रण भएको छ । उनले जामिया स्थापना गरेपछिका जीवनका महत्वपूर्ण पलहरूलाई जामिआको संरक्षण, सम्बद्र्धन र उन्नतिमा उत्सर्ग गरेका छन् । निकै आर्थिक आरोह–अवरोह झेलेर पनि उनले जामिआलाई केन्द्रमा राखे ।

२०४७ सालतिर इटहरी (पकली) का जिया हुसैन, स्व. इबराहीम हुसैन र स्वयम् पङ्क्तिकार तीन जना विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा अध्ययनरत थियौँ । केही अन्य मुस्लिम विद्यार्थीहरू पनि सोही क्याम्पसमा अध्ययनरत थिए । बिस्तारै चिनजान भयो । हामी जनपद पिचडातिर कोठा बहालमा लिएर बसेका थियौँ । हामी सबै विपन्न परिवारका विद्यार्थी थियौँ । कुनै विद्यार्थीमार्फत निजाम खानलाई हाम्रो बारेमा जानकारी प्राप्त भयो । हामीलाई बोलाउन लगाए । इस्लामी संघले सञ्चालन गरेको होस्टलमा बहाल नतिर्ने गरी बस्ने बन्दोबस्त मिलाएदिए । पछि केही छात्रवृत्ति पनि दिलाइदिए । होस्टेलमा हामीभन्दा सिनियर डा. मोअज्जम, अब्दुल सत्तार, जैनुद्दीन, शमीमहरू थिए भने अरू समकक्षीहरू थिए । १०–११ जना थियौँ । तिन टोलियामा थियो होस्टल । यसको निगरानी उनै निजाम खानले गर्थे । उनले सबै विद्यार्थीलाई नियन्त्रित गरी अनुशासित बनाउँदै, इस्लामी आचार सिकाउँदै शैक्षिक दिशानिर्देश गर्थै । उनले कलेजमा अध्ययनरत सबै मुस्लिम विद्यार्थीहरूलाई एकत्रित गर्ने प्रयास गरे । तर, मुस्लिमहरू मात्रलाई एकत्रित गरेता पनि उनले जहिले पनि मिश्रित समाजमा एकता कायम राखी आदर्श मानव बन्ने प्रशिक्षण दिए । 

अल्पसंख्यकको रूपमा रहेको मुस्लिम समाजका अगुवाले आफ्नो समुदायका युवा तथा विद्यार्थीको उत्थान र विकासका लागि काम गर्नु गलत पक्कै पनि होइन तर, सँगसँगै सद्भाव, सहअस्तित्व, भाइचारा र मानवताको शिक्षा दिनुलाई प्राथमिक कर्तव्य बनाउनु पर्छ । हो, यो हेक्का निजाम खानमा थियो । यही कारण थियो कि खानका धेरैजसो परम मित्रहरू गैर मुस्लिम थिए । सबैबिच उनी सम्मान र आदरका पात्र थिए ।

पङ्क्तिकार नेपाली काँग्रेसको पकली (हाल इटहरी) को सक्रिय नेताको भूमिकामा थिएँ । २०४६ सालको जनआन्दोलनमा पकली एरियाको प्रमुख आन्दोलनकारीहरूमध्ये थिएँ । २०५४ सालको स्थानीय निर्वाचनमा स्वयम् पङ्क्तिकार पकली गाविसको उपाध्यक्षमा चुनाव लडेँ । चुनावको एक हप्ता बाँकी रहँदा निजाम खानले कुनै न कुनै माध्यमले प्रत्येक दिन मेरो बारेमा खोजीनिती गरे । अर्थात्, जसलाई उनले प्रशिक्षित गरिरहे, त्यसको एक एक गतिविधिमाथि उनको दृष्टि रहने गथ्र्यो । उनले चुनावमा जीतको आशा राखेका थिए ।

पंक्तिकारको गाउँ पकलीसँग निजाम खानको विशेष लगाव थियो । उनी युवावस्थामा हुँदाखेरि पकली, बकलौरीका हाटहरूमा कपडा बेच्न आउने गर्थे । पकलीमा उनका नातेदारहरू पनि छन् । कहिलेकाहीँ उनी पकलीमै बस्ने गरेको पुरानो कथा सुनाउँथे हामीलाई । 

पंक्तिकारको गाउँमा टिनको छाना भएको निकै जीर्ण अवस्थाको सानो झुप्रो मस्जिद थियो । जिया र पंक्तिकारले मस्जिद बनाइदिन आग्रह गरेको केही दिनभित्र उनी हाम्रो गाउँ पुगेर मस्जिद बनाउने जग्गा नापेर गए र केही समयपछि मस्जिद निर्माण कार्य सुरु भयो । छेउमा मजरा टोल पनि देखायौँ । केही समयपछि त्यहाँ पनि मस्जिद बनाइदिए । निजाम खान काम गर्ने ठाउँमा काम गर्न आतुर देखिन्थे । कामप्रति उनको समर्पण भाव हुने गथ्र्यो । यही नै उनको सामाजिक जीवनको सफलताको कारण पनि थियो ।

उनले नेपाली राजनीतिको ताजा जानकारी राख्थे । उनी कहिल्यै कुनै राजनीति कर्ममा लागेनन् र कुनै दलको सदस्य पनि भएनन् । तर, उनको सामाजिक कार्यले सबै दलका नेताहरूसँग उनको राम्रो सम्बन्ध रहने गथ्र्यो । स्वयम् पङ्क्तिकार संविधानसभा सदस्य रहेको बेला हरेक भेटमा उनले राजनीतिक परिस्थितिबारे गहन छलफल गर्दथे । उनमा नेपाली राजनीतिको उच्च सुझबुझ थियो । उनले देशको दयनीय स्थितिबारे समेत सचेत चिन्ता गर्थेे । वास्तवमा भन्ने हो भने उनी एक राम्रो राजनीतिक विश्लेषक पनि थिए ।

सेवाभावको उच्चतम प्रयोगको आदर्श व्यक्तित्व थिए, निजाम खान । दुहबी–छाताबेलीका मौलाना गुलाम रसूल फलाही उनका निकै निकटतम साथी थिए । मौलाना गुलाम रसूल फलाही इस्लामी संघको संस्थापक महासचिव र पटक–पटक केन्द्रीय अध्यक्ष रहिसकेका सर्वाधिक सिनियर व्यक्तित्व हुन् । 

ठूला–साना सवैको इज्जत गर्ने निजाम खानले सबैबाट इज्जत र सम्मान पनि पाएका थिए । पश्चिम नेपालको पहाडी जिल्ला पाल्पाको रामपुर बस्तीको शैक्षिक, सामाजिक र आर्थिक जीवनमा जुन सुनौलो परिवर्तन आएको छ, त्यो पनि निजाम खानको दुरदृष्टिको उपज हो । त्यसैले, यस विषयमा चर्चा गरिएन भने उनको जीवन गाथा नै अपूरो रहने छ । २०४७–०४८ सालतिर उनले अति दुर्गम, पछौटेपनको अवस्थामा रहेको रामपुरलगायत तनहुँसमेतका लगभग दुई दर्जन बालबालिकालाई पढाइका लागि विराटनगर ल्याए । त्यसमा एक जना मात्र चार वर्षका इस्माइलको निर्दोष बालापन आज पनि झल्झल्ति याद आउँछ । उनले ती साना–साना बच्चाहरूलाई जामिआ इस्लामियाको होस्टलमा राखेर सबै किसिमका निःशुल्क सहुलियत उपलब्ध गराएर पढाएका थिए । त्यस कालमा पहाडी जिल्लाका मुस्लिमहरूको आर्थिक, सामाजिक र शैक्षिक अवस्था निकै दयनीय हुनेगथ्र्यो । 

उनीहरूमा धर्मको नाममा पनि धेरै विकृतिहरू विद्यमान थियो । ती बच्चाहरूलाई भेट गर्न त्यति टाढाबाट अभिभावकहरू आउने गर्थे तर, बच्चाहरूले २–३ वर्षपछि मात्र घर जान अल्प अवधिको बिदा पाउँथे । निजाम खानको यो प्रयोग अप्राकृतिक अवश्य थियो तर, त्यस बस्तीको तत्कालिक अवस्थामा उनले यसो नगरेको भए कुनै बच्चा पढ्न पाउने थिएनन्; एक÷एक गरी सबै भाग्ने थिए । उनको त्यो दुरदृष्टिले खास गरी रामपुरमा ठुलो सामाजिक र शैक्षिक क्रान्ति ग¥यो । धर्मको नाममा रहेका विकृतिहरू निर्मूल हुँदै गए । यसले त्यहाँको मुस्लिम समाजको जीवनशैली र आर्थिक अवस्थालाई नै बदलिदियो । आज पाल्पाको त्यस रामपुर बस्तीमा हिजोका तिनै बालकहरूले शिक्षाको जुन बिगुल फुकेका छन्, त्यसले एउटा नमुनाकै रूप धारण गरेको छ । हिजोको दुर्गम, पिछडा रामपुर बस्तीको मदरसामा आज तराईबाट मानिसहरूले आफ्ना बच्चाहरू पढ्न पठाउँछन् । रामपुर परिवर्तनको श्रेय उनीमाथि नै जान्छ । 

रामपुरका मुसलमानहरू निजाम खानलाई निकै आदर गर्छन् । उनको नाम आउँदा रामपुरवासीहरूको शिर श्रद्धाले झुक्दछ । आज उनी छैनन् । श्रद्धाले भक्कानिएर यति भन्न सकिन्छ, ‘इन्न लिल्लाहि व इन्न इलैहि राजिऊन ।’ 

(नेपाली मुस्लिम समाजको विषयमा अध्ययन अनुसन्धानमा सक्रिय लेखक हुसैन पूर्वमन्त्री हुन् ।)

ADVADV

सम्बन्धित खबर

Advertise