काठमाडौं : वेस्ट इन्डिजसँग हुने टी-२० श्रृंखला खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी असोज दोस्रो साता संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि १६ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको हो ।
यसपटक टोलीमा लामो समयपछि अलराउन्डर आदिल अन्सारी र ब्याटर सन्दीप जोरा फर्किएका छन् ।
आदिल अन्सारी स्पट–फिक्सिङको विवादपछि सन् २०२२ यता राष्ट्रिय टोलीबाट बाहिरिएका थिए । करिब तीन वर्षपछि उनले पुनः स्थान पाएका हुन् । भारतको आसाममा भएको पाँच खेलको टी–२० शृंखलामा नेपाल ‘ए’ टोलीबाट उत्कृष्ट प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक स्टुअर्ट ल को सिफारिसमा उनलाई पुनः टोलीमा समावेश गरिएको हो ।
यस्तै, ब्याटर सन्दीप जोराले भने गत वर्ष सम्पन्न टी–२० विश्वकपपछि पहिलोपटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । उनले पनि आसाममा ‘ए’ टोलीमार्फत प्रभावशाली प्रदर्शन गरेका थिए ।
नेपालले पहिलो पटक आइसिसी पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय टी-२० शृंखला खेल्न लागेको हो । शारजाह क्रिकेट स्टेडियममा हुने यो प्रतियोगितालाई ‘युनिटी कप’ नाम दिइएको छ ।
शृंखलाका खेल असोज ११, १३ र १४ गते (सेप्टेम्बर २७, २९ र ३०) हुने तय भएको छ ।
यो श्रृंखला ओमानमा हुने आगामी टी–२० विश्वकप छनोट को तयारीको महत्वपूर्ण भागका रूपमा लिइएको छ । वेस्ट इन्डिजसँग शृंखला खेलेलगत्तै नेपाली टोली त्यतैबाट ओमान प्रस्थान गर्नेछ ।
ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन स्थानमा पर्ने टोलीले सन् २०२६ को विश्वकपका लागि प्रत्यक्ष प्रवेश पाउनेछ । नेपालले यदि सफलतापूर्वक छनोट पार गरे लगातार दोस्रो पटक विश्वकप खेल्नेछ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल कप्तान र दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेका छन् । अन्य खेलाडीमा कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ शेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलशन झा, सोमपाल कामी र शाहव आलम रहेका छन् ।