२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

युएईले भिसा रोक्दा नेपाली क्रिकेट टोलीको भ्रमण अनिश्चित

shivam cement
मध्यान्ह
२०८२ असोज ३ गते २०:०३
युएईले भिसा रोक्दा नेपाली क्रिकेट टोलीको भ्रमण अनिश्चित

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)ले हाल नेपाली नागरिकलाई भिजिट भिसा रोक्ने निर्णय गरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक भ्रमणमा अनिश्चितता देखिएको छ । वेस्ट इन्डिजसँग तीन खेलको टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्नका लागि नेपाली टोली शुक्रबार युएई प्रस्थान गर्ने तालिका थियो । तर दूतावासले भिसा जारी नगरेपछि टोलीकै यात्रा रोकिएको छ ।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग सिरिज खेल्न लागेको हो । शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७, २८ र ३० तारिखमा ‘युनिटी कप टि–२० आई सिरिज’ नाम दिइएको प्रतियोगिता हुने तय भएको छ । तर भिसा प्रक्रियामा अड्किएका कारण खेल नै अन्योलमा पर्न सक्ने आशंका बढेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीहरुले केही दिनअघि नै आवेदन दिए पनि अझैसम्म भिसा प्राप्त भएको छैन । सामान्यतया एक दिनमै भिसा उपलब्ध हुने गरेकोमा यसपटक ढिलाइ भएको, तर सिरिज सुरु हुन अझै केही दिन बाँकी भएकाले समाधान हुने अपेक्षा रहेको उनले बताए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि भिसा समस्याबारे युएई क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सँग औपचारिक पहल भइसकेको जानकारी दिए ।सामान्य प्रक्रियाबाट समस्या समाधान नभएमा नेपाल सरकारको कूटनीतिक पहल आवश्यक पर्ने उनले स्पष्ट पारे ।

यूएईले नेपाली नागरिकलाई भिजिट भिसा रोक्ने औपचारिक घोषणा नगरे पनि पछिल्लो राजनीतिक घटनाक्रमसँगै यस्तो कदम चालिएको बताइन्छ । ‘जेनजी आन्दोलन’पछि जेलका कैदीहरु निस्किएको घटनाले युएई प्रशासन सतर्क बनेको र त्यसैको असर भिसा नीतिमा परेको अनुमान गरिएको छ । 

वेस्ट इन्डिजसँगको सिरिजपछि नेपाल ओमान प्रस्थान गरी टि–२० विश्वकप छनोटमा भाग लिने तयारीमा छ ।

भिसा समस्या तत्काल समाधान भएन भने नेपालको ऐतिहासिक टि–२० सिरिजमै संकट आउन सक्ने देखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र युएई क्रिकेट बोर्डको पहलबाट भिसा छिट्टै उपलब्ध हुने र नेपाली टोली निर्धारित समयमै शारजाह पुग्ने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise