काभ्रेपलाञ्चोक : असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा पुन:अस्थायी सडक-डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइतबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो ।
डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुन:डाइभर्सन निर्माण गर्न थालेको हो । गत वर्षको असोजमा बाढी पहिरोबाट क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रूपमा सञ्चालन गर्दै आइएको थियो ।
सोही क्षेत्रको सडक खण्ड शनिबार र आइतबारको बाढी पहिरोले पुन:क्षतिग्रस्त बनाउँदै बगाएको थियो ।
राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकी डाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीन/चार स्थानबाट अस्थायी सडक बनाउन सुरु गरिने कार्यालयका सूचना अधिकारी इञ्जिनियर बिन्दु अधिकारीले जानकारी दिए । उनका अनुसार रोशी खोलाको किनारै किनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले पानीको सतहभन्दा उचाइमा डाइभर्सन पुन:निर्माण गरिनेछ ।
शनिबार र आइतबारको बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि सोमबारदेखि नै पुन:डाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपाल थोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए ।
उनका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले बिपी राजमार्गको नेपाल थोकतर्फबाट हाल दुई वटा एस्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो ।
सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबद्धको चौकी डाँडासम्मको विभिन्न स्थानमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रूपमा उक्त राजमार्ग अवरुद्ध भएको हो । हाल वैकल्पिक मार्गका रूपमा सवारीसाधन खुर्कोट-मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली-हेटौँडा हुँदै काठमाडौँ आवतजावत भइरहेका छन् ।
बिपी राजमार्गअन्तर्गत चौकी डाँडा, घुमाउने, माम्तीलगायतका क्षेत्रमा रोशी खोलाले राजमार्ग कटान गरेका कारण पैदल यात्रासमेत गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकतर्फले जनाएको छ ।
कार्यालय प्रमुख कोमल शाहका अनुसार शनिबार साँझदेखि रोशी खोला तथा मंगलटार खोलाको बाढीले काम सुरु गरेपछि करिब दर्जन स्थानमा सडकमा लेदो जमेको तथा सडक बगाउँदा पिप्ले र बोक्सेकुनामा हिँड्ने बाटोसमेत छैन ।
सडक कटान गरेपछि फसेका करिब तीन दर्जन सवारीसाधनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मंगलटार तथा सुरक्षित स्थानमा राखिएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले शनिबारदेखि बिपी राजमार्गमा तीन दिन सवारीसाधन आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । शुक्रवारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गको विभिन्न स्थानमा लेदासहितको साना साना पहिरोका कारण थप जोखिम हुन नदिन ट्राफिक प्रहरीले शनिबार बिहानैदेखि प्रवेशमार्गस्थल धुलिखेल तथा काभ्रेभञ्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारीसाधन होल्डसवारी साधन ‘होल्ड’ गरिएको थियो ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।